भदौ १७, वीरगञ्ज । कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायको पुनरुत्थानका लागि तहगत सरकार र निजीक्षेत्र बीच सहकार्यको आवश्यकता औंल्याइएको छ ।
बिहीवार आयोजित अन्तरक्रियामा गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री मणिभद्र शर्माको नेतृत्वमा आएको टोली र वीरगञ्जका उद्यमी व्यवसायीले यस्तो बताएका हुन् ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री मणिभद्र शर्माले शर्माले कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि गण्डकी प्रदेश सरकारले रचनात्मक कार्ययोजना अघि सारेको दाबी गरे ।
आन्तरिक पर्यटन प्रवद्र्धनको लागि प्रदेश सरकारले पर्यटनसम्बन्धी कानूनको मस्यौदा तयार गरेको र त्यसमा थप्नुपर्ने विषय तथा संशोधनका बारेमा सरोकारका पक्षसँग सुझाव मागिएको पनि मन्त्री शर्माले बताए ।
गण्डकी प्रदेशले ल्याउने कानून पर्यटन व्यवसायमैत्री हुने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । ‘पर्यटन क्षेत्र नेपालको एक प्रमुख आयआर्जनको स्रोत हो । यसको उन्नयनबाटै राष्ट्रिय, प्रादेशिक र स्थानीय अर्थतन्त्रको सवलीकरण सम्भव भएकाले यसमा सरोकारका सबै पक्षको रचनात्मक भूमिकाको खाँचो छ,’ मन्त्री शर्माले भने ।
वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको थियो । संघका अध्यक्ष सुबोधकुमार गुप्ताले प्रदेश नं २ मा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा संघले आफ्नो भूमिका निर्वाह गर्दै आएको बताए ।
वीरगञ्ज र आसपासका क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गरिनु पर्नेमा अध्यक्ष गुप्ताले जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले २ नम्बर प्रदेशमा धार्मिक पर्यटनको सम्भाब्यता रहेको बताए ।
नेपाल र भारतको समाजिक र संस्कृतिक सम्बन्धका कारण पनि भारतीय पर्यटकको सम्भावना अधिक रहेकाले भारतीय पर्यटक भित्र्याउनुपर्ने अध्यक्ष लाठको भनाइ थियो । अहिले कोरोनाका कारण पर्यटन समस्यामा परेको बेला भारतीय पर्यटकलाई ल्याउन सहजीकरणका उपायमा केन्द्रित हुनुपर्ने उनको सुझाव थियो ।
हालै सिमरा र पोखारा सिधा हवाई सेवा शुरु भएकाले यसले भारतीय पर्यटकलाई थप आकर्षित गर्न सक्ने उनले औंल्याए । कार्यक्रममा बुद्ध एयरका सञ्चालक परासरजङ्ग पाण्डेले वीरगञ्ज नाका भएर भित्रिने भारतीय पर्यटकलाई लक्षित गरी बुद्ध एअरले बुधवारदेखि सिमरा–पोखरा सेवा शुरु गरेको बताए ।
आउने २/ ३ महीनाभित्रै हवाई यात्रा सोचेभन्दा भाडा दरमा उपलब्ध हुने दाबीसमेत उनले गरे । उनले यसबाट वीरगञ्ज र आसपासका क्षेत्र र पर्यटकीय नगर पोखरा बीच पर्यटन प्रवर्द्धनमा सहकार्य र सहयोग प्रवर्द्धन हुने पनि बताए ।