वीरगञ्ज (अस) । वीरगञ्जको नारायणी अस्पतालमा अक्सिजनको स्वचालित प्लान्ट स्थापना भएको छ । पर्सा क्षेत्र नम्बर २ का सांसद विमलप्रसाद श्रीवास्तव र वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बिहीवार उक्त अक्सिजन प्लान्टको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
सांसद श्रीवास्तवको स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम र महानगरपालिको संयुक्त खर्चमा अक्सिजन उत्पादन प्लान्ट निर्माण गरिएको हो । कोरोनाको तेस्रो लहरको जोखिमलाई ध्यानमा राख्र्दै अक्सिजन प्लान्ट स्थापना गरिएको बताइएको छ । बिरामीले अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने हेतुले अक्सिजन प्लान्ट स्थापना गरिएको सांसद श्रीवास्तवले बताए ।
महानगर प्रमुख सरावगीले कोभिड–१९ को दोस्रो महामारीमा वीरगञ्जलगायतका स्थानमा अक्सिजनको अभावमा धेरै जनाले ज्यान गुमाएको अवस्थालाई ध्यानमा राखेर स्वचालित अक्सिजन प्लान्टको स्थापना गरिएको बताए । अब नारायणी अस्पताललाई चाहिने अक्सिजन यो प्लान्टबाट आपूर्ति गर्न सकिने जानकारी उनले दिए ।