सर्लाही । डेढ महीनाअघि बाढीले क्षति पुर्याएको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अघि बढ्न सकेको छैन । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोलाको निर्माणाधीन पुलमा क्षति पु¥याएको डेढ महीना पुगिसकेको छ तर पनि पुल पुनर्निर्माणको काम अलपत्र रहेको छ ।
पुल ढलान भएको २ सातामै सामान्य पानी पर्दैमा क्षति पुगेको र पुनर्निर्माणको काम डेढ महीना भइसक्दा पनि अघि बढ्न सकेको छैन । ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनर्निर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर–८ का वडाध्यक्ष श्यामबहादुर थापाले बताए ।
सम्झौताअनुसार पुल गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले निर्माण सुस्त गरेका कारण पुल समयमै सम्पन्न हुन नसकेको लालबन्दी–३ का वडाध्यक्ष रामनारायण चौधरीले बताए ।
पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुरसहित अन्य छिमेकी स्थानीय निकायबाट हाटबजार तथा किनमेल गर्न लालबन्दी आउने स्थानीय बासिन्दालाई समस्या परेको छ ।