जलेश्वर । महोत्तरीको मूल भन्सार भिठामोड सीमा नाकाबाट १७ महीनापछि आवतजावत सञ्चालन भएको छ । कोभिड–१९ महामारीका कारण २०७६ चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको हो ।
गत शुक्रवार, शनिवार र आइतवार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करीब १०० जना सीमानाकामा धर्ना बसेपछि सो नाका भएर सोमवारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताए । सो नाकाबाट मालवाहक ट्रक, टिप्परलगायत साधनहरू बन्दाबन्दीको बेला पनि निर्बाध रूपमा आवातजावत गरेका थिए । तर पैदल यात्रुलाई भने रोकिएको थियो । भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरू ५०० मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल–भारत आउजाउ गरिरहेका थिए ।
मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुशी भएका छन् । सो नाकाबाट पैदल आवागमन शुरू भए पनि सवारीसाधन अझै सञ्चालन भएको छैन । रासस