वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ ले प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि पहल गर्ने निर्णय गरेको छ । महासंघको पर्यटन तथा हवाई यातायात समितिले आयोजनामा हालै भएको सरोकारवालाहरूको छलफलले प्रदेश नं २ का पर्यटकीय गतिविधि बढाउने र त्यसका लागि सरोकारका निकायसँग समन्वय गर्ने निर्णय गरेको हो ।
समितिले विज्ञप्ति जारी गर्दै सीमाक्षेत्रमा भारतीय पर्यटकका लागि सहज वातारण बनाउन कार्य योजना तयार पारिने जानकारी दिएको छ । अहिले भारतीय सीमाबाट नेपालतर्फ सवारीसाधनको आवागमन रोकिएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले सवारीसाधन आवतजावतमा रोक लगाएपछि स्थलमार्ग भएर आउने भारतीय पर्यटकहरू आउन छाडेका छन् ।
यसका लागि नेपाल र भारत दुवैतर्फ सीमानामा खटिएका सुरक्षाकर्मीहरूसँग समन्वय गरी भारतीय पर्यटकलाई सहज रूपमा आवागमनको व्यवस्था मिलाउन पहल गर्ने निष्कर्षमा पुगेको महासंघका प्रदेश अध्यक्ष गणेशप्रसाद लाठले जानकारी दिए ।
स्थानीय ट्याक्सी तथा अटोरिक्सा चालकलाई पर्यटकमैत्री व्यवहारसम्बन्धी चेतना अभिवृद्धिका लागि तालीम सञ्चालन गरिने पर्यटन तथा हवाई यातायात समितिका सहसंयोजक सञ्जय अग्रवालले बताए । ‘सवारी चालहरूलाई पर्यटकसँग नम्र व्यवहार गर्ने, जथाभावी भाडा नलिने, तीव्रगतिमा सवारीसाधन नहाँक्नेजस्ता विषयमा तालीम दिने योजना बनाएका छौं,’ अग्रवालले भने ।
प्रदेश २ का पर्यटकीय सम्भावनाहरूको पहिचान र प्रचारप्रसारमा पनि महासंघले पहल गर्ने भएको छ । प्रदेशलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन जनकपुर, वीरगञ्ज, सिम्रौनगढ, पर्सा राष्टिय निकुञ्जलगायतका पर्यटकीय सम्भाव्यताको प्रभावकारी व्यवस्थापनमा पहल गरिने भएको छ ।