ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीमावर्ती नाकाबाट निजी सवारीसाधनको आवागमन खोल्न माग

२०७८ असोज, ३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । वीरगञ्जका होटल व्यवसायीले सीमावर्ती भारतीय नाकाबाट निजी सवारीसाधनको आवागमन खोल्न माग गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले २०७६ चैतदेखि निजी सवारीसाधनको आवतजावत रोक्दा सीमावर्ती स्वदेशी शहरको होटल तथा पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको उनीहरूले बताएका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले बुधवार साँझ वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा सीमाक्षेत्रमा सबै खालको आवागमन र उद्यम व्यापार सामान्य अवस्थामा आइसकेकाले निजी सवारीसाधनलाई मात्र रोक लगाउनुको औचित्य नभएको तर्क सरोकारका पक्षले गरेका हुन् ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि भारततर्फ निजी सवारीसाधनको आवतजावत रोकेको थियो । अन्य सबै गतिबिधि सञ्चालनमा आइसक्दा सवारीमाथि लगाएको रोक अझै हटाइएको छैन ।

सिमानामा सवारी आवागमन बन्द हुँदा यस क्षेत्रमा सञ्चालित होटल व्यवसाय बन्द हुने अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए । ‘भारतीय सिमानाबाट मानिसको आवागमन निर्बाध भइरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि निजी सवारीसाधनको आवागमनमा लगाइएको रोक भने अझै हटेको छैन,’ अध्यक्ष पन्तले भने । सीमावर्ती क्षेत्रका होटल भारतीय पाहुनामा आधारित रहेकाले आवागमन सहज नहुँदा व्यवसाय प्रभावित भएको उनको भनाइ छ । अहिले निषेधाज्ञा नाममात्रको रहेको र अन्य बजार, व्यवसाय सामान्य लयमा फर्किइसकेको अवस्थामा सवारी आवागमनमा मात्र रोक लगाउनु अव्यावहारिक भएको व्यवसायीको भनाइ छ ।

कार्यक्रममा वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले स्वास्थ्य सतर्कताका मापदण्ड बनाएर होटल र पर्यटन व्यवसायलाई चालायमान बनाउन अब ढिला गर्न नहुने बताए । ‘बन्दाबन्दी र निषेधाज्ञाका बेला पनि नाकामा मानिसको आवागमन रोकिएन । अहिले त सीमाक्षेत्रमा कोरोनाको जोखिम कम छ । त्यसमा पनि मानिसहरू पैदल हिँड्दा कोरोना नसर्ने, सवारीसाधनबाट सर्ने भन्ने सरकारको बुझाइ नै गलत छ,’ प्रमुख सरावगीले भने, ‘सिमानाबाट निजी गाडीको आवागमनमा लगाइएको रोक तत्काल हटाउनु पर्दछ ।

डेढ वर्षदेखि सिमानाबाट सवारी बन्द हुँदा सीमाक्षेत्रका होटल र पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको वीरगञ्जको लर्ड्स दियालो होटलका सञ्चालक अनिल रुंगटाले बताए । सिमानामा प्रभावकारी र छरितो स्वास्थ्य सतर्कताको मापदण्ड बनाएर सिमानाबाट सवारीसाधन सञ्चालनमा लागेको रोक तत्काल हटाउन उनले माग गरे ।

सीमानामा सवारी खोल्ने विषयमा कुरा गर्दा स्थानीय प्रशासनले माथिल्लो निकायलाई देखाउने गरेको नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको भनाइ छ । भारतीय ग्राहक नआउँदा सीमाक्षेत्रसँगै नेपालका अन्य क्षेत्रको पर्यटन व्यवसाय पनि प्रभावित भएको उनले बताए । भारतीय पर्यटक सिमानामा गाडी थन्क्याएर पैदल हिँड्दै दुःख पाउन नेपाल नआउने तर्क नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश–२ का अध्यक्ष गणेशप्रसाद लाठको छ । ‘विगतमा नेपाल आउने विहारका पर्यटक यो समस्याका कारण अहिले आफ्नै देशको गोवातर्फ जान थालेका छन् । भारत पूर्ण खोपतिर अग्रसर भइसकेकाले अब हामीले भारतबाट कोरोना भित्रिएका भन्ने डर पाल्नु आवश्यक छैन,’ उनले भने ।

अहिले भारतबाट दैनिक हजारौंको संख्यामा पैदल भित्रिने मानिस आफ्ना ग्राहक नभएको र गाडीको आउजाउ खुला नभएसम्म होटलका ग्राहक नभित्रिने व्यवसायी रञ्जेश श्रेष्ठको भनाइ छ । होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्रसिंह थापाले होटल व्यवसाय बन्द गरेर सरकारलाई तालाचाबी बुझाउने अवस्था आइसकेको गुनासो गरे ।
होटल व्यवसाय धरापमा पर्दा रोजगारीमा समेत धक्का लागेको होटल व्यवसायी दिलिपराज कार्कीले बताए । पैदल हिँड्ने मानिसको भीडबाट कोरोनाको जोखिम बढी हुन्छ, तर निजी सवारीसाधनको आवागमनले जोखिम घटाउँछ भन्ने तथ्य सरकारले बुझ्न नसक्नु विडम्बना बनेको व्यवसायीको गुनासो छ ।

सीमाक्षेत्रका होटल व्यवसायले भोगेको समस्याका बारेमा विगतमा पनि सरोकारका निकायको ध्यानाकर्षण गराएकोमा माग सम्बोधन नभएको व्यवसायीले बताए । समस्या सुनुवाइ नभएकाले प्रधानमन्त्रीलाई नै भेटेर समाधानको आग्रह गर्ने तयारीमा लागेको पन्तले जानकारी दिए ।

व्यवसाय नचल्दा बैंकको ब्याज, होटलको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युत्लगायत नियमित खर्चको भार बढिरहेको र कतिपय यस क्षेत्रबाटै पलायन हुने अवस्थामा पुगेको गुनासो व्यवसायीको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)