ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चाडपर्वको मुखमा पनि पाएनन् सर्लाहीका उखु किसानले अनुदान

२०७८ असोज, ५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

असोज ५, सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष विक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । 

सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो ।

उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका जिल्लाका उखु उत्पादक किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उनका अनुसार भुक्तानीको झन्झटले उखु उत्पादक किसान उखुखेतीबाट निरुत्साहित हुँदै अन्य खेतीतर्फ लागेका छन् ।

यता कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका निमित्त प्रमुख दामोदर पौडेलले अनुदान रकम वितरणका लागि दुई साताअघि कार्यालयलाई रू. २० करोड सात लाख बजेट प्राप्त भइसकेको जानकारी दिए । उनले भने, ‘अहिले रोक्का भएको बजेट खुल्नेबित्तिकै दशैँअघि नै उखु उत्पादक किसानलाई अनुदान वितरण गरिने छ ।’

अनुदान वितरणका लागि इन्दुशंकर चिनी उद्योग हरिवनबाट उखु किसानको विवरण लिइसकेको र महालक्ष्मी चिनी उद्योग बगदहले एक/दुई दिनमै विवरण उपलब्ध गराउने बताएको कोलेनिकाका निमित्त प्रमुख पौडेलले बताए ।

चाडपर्वको समयमा अनुदान रकम उपलब्ध गराइदिन उखु किसानले सरकारसँग माग गरेका छन् भने उखुको भुक्तानी लिन किसानले हरेक वर्ष आन्दोलन गर्दै आइरहेका छन् । 

जिल्लामा तीनओटा चिनी मिल रहेको भए पनि इन्दुशंकर चिनी उद्योग हरिवनले समयमै भुक्तनी दिए पनि महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौलले भने भुक्तानीमा ढिलाइ गरेको उखु किसानले गुनासो गरेका छन् । गत वर्षदेखि नै बन्द रहेको अन्नपूर्ण चिनी उद्योगले उखु किसानको पुरानो भुक्तानीसमेत दिन सकेको छैन । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)