ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिरहाका स्थानीय तहको बेरुजु एक अर्ब २० करोड 

२०७८ असोज, ७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

असोज ७, लहान । सिरहाका १७ ओटै स्थानीय तहमा बेरुजु रहेको छ । 

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा रू. एक अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको छ ।   

स्थानीय तहमा रू. ३१ करोड १५ लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहबाट विभिन्न शीर्षकमा निकासा गरिएकामध्ये रू. ११ करोड ५४ लाख असुलउपर गर्नुपर्ने, रू. ३० करोड ४२ लाख नियमित गरिनुपर्ने तथा कागज र प्रमाण नपुगी रू. ४७ करोड २५ लाख भुक्तानी दिइएको पाइएको छ । 

सबैभन्दा बढी सिरहा नगरपालिकामा रू. २२ करोड २७ लाख बेरुजु र रू. १४ करोड २० लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ । सो नगरपालिकामा रू. १७ लाख ८४ हजार असुल गर्नुपर्ने, रू. तीन करोड १४ लाख ४२ हजार नियमित गर्नुपर्ने तथा रू. चार करोड ७४ लाख ८५ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने पाइएको छ । 

नगरप्रमुख अशेश्वरप्रसाद यादव, उपप्रमुख नमिता यादवलगायत जनप्रतिनिधि र कर्मचारीले आव २०७६/७७ मा बैठक भत्ताबापत रू. ६६ लाख ४२ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै लहान नगरपालिकामा रू. १९ करोड ३६ लाख १५ हजार बेरुजु र रू. सात करोड पाँच लाख ५९ हजार पेश्की छ । नगरपालिकाले विभिन्न व्यक्ति तथा फर्मबाट रू. चार करोड ४९ लाख ४४ हजार असुल गर्नुपर्नेछ । नगरपालिकाले भुक्तानी दिइएको रू. छ करोड ७४ लाख ७६ हजारको कागजात र प्रमाण पुर्‍याउनुपर्ने तथा रू. एक करोड ६ लाख ३६ हजार नियमित गर्नुपर्ने महालेखाको ठहर छ । 

धनगढीमाई नगरपालिकामा रु १३ करोड ६२ लाख ३८ हजार बेरुजु तथा रू. चार करोड ४३ लाख ८० हजार पेश्की छ भने रू. एक करोड २५ लाख ४० हजार असुल गर्नुपर्ने छ । नगरपालिकाले रू. चार करोड ९७ लाख ९१ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने तथा रू. दुई करोड ९५ लाख २७ हजार नियमित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

यसैगरी विष्णुपुर गाउँपालिकामा रू. १४ करोड ३४ लाख ५० हजार बेरुजु र रू. एक करोड २८ लाख ६९ हजार पेश्की रहेको छ । गोलबजार नगरपालिकामा रू. ६ करोड ३९ लाख ९९ हजार बेरुजु र रू. एक करोड ७४ लाख ८२ हजार असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । रू. चार करोड सात लाख ५२ हजारको कागजात पेश गर्नुपर्ने तथा रू. ३० लाख ९१ हजार नियमित गर्नुपर्ने र रू. २६ लाख ७४ हजार पेश्की देखिएको छ ।

मिर्चैया नगरपालिकामा रू. दुई करोड १८ लाख ३७ हजार बेरुजु देखिएको छ । त्यसमध्ये रू. ४५ लाख ४५ हजार असुल गर्नुपर्ने, एक करोड एक लाख २२ हजारको कागजात र प्रमण पेश गर्नुपर्ने, रू. २८ लाख ७९ हजार नियमित गर्नुपर्ने र रू. ४२ लाख ९१ हजार पेश्की देखिएको छ । कल्याणपुर नगरपालिकाले एक वर्षमा खाजा, खाना र विविध शीर्षकमा रू. ५८ लाख ८८ हजार खर्च गरेको उल्लेख छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ को दफा चारमा न्यायिक समितिको बैठकमा भत्ता लिन पाउने स्पष्ट व्यवस्था छैन । 

स्थानीय तहमा निर्वाचित भएदेखि जनप्रतिनिधिले कर्मचारीलाई दबाब दिएर मनपरि खर्च गर्ने गरेकाले बेथिति र बेरुजुको चाप बढेको लहानका नागरिक अगुवा राजेश गुप्ता बताउँछन् । एउटा शीर्षकमा रहेको रकम अर्कैमा खर्च गर्ने, जनप्रतिनिधि र कर्मचारीले अनावश्यक सुविधा लिने तथा पेश्की लिएर समयमा फछ्र्योट नगर्ने प्रवृत्तिका कारण स्थानीय तहमा बेरुजु बढेको उनको भनाइ छ । 

यसरी मनपरि खर्च गर्ने, जथाभावी निर्णय गरी कार्यान्वयन गर्ने र जनताको सेवाभन्दा पनि कमाउने धन्दामा जनप्रतिनिधि बढी केन्द्रित हुँदा जनतामा नैराश्यता उत्पन्न भएको लहान नगरपालिका–४ का सत्यनारायण चौधरी बताउँछन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)