असोज २०, वीरगञ्ज । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले आउँदो कात्तिक ५ गते वीरगञ्जमा नेपाली महिला उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ ।
एनवाईईएफले लेडिज सर्कल नेपालसँगको सहकार्यमा सम्मेलन गर्न लागेको हो । सम्मेलनबारे जानकारी दिन बुधवार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उद्यमशीलतामा नेपाली महिलाहरूको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलो पटक वीरगञ्जमा सम्मेलन गर्न लागिएको सम्मेलन संयोजक मनिषा सुनुवारले बताइन् ।
एक दिने सम्मेलनमा १०० भन्दा बढी महीला उद्यमीको सहभागिता रहने संयोजक सुनुवारले जानकारी दिइन् ।
उद्यमशीलताका विविध क्षेत्रमा सहभागी महिला उद्यमीहरूको मेहेनत, संघर्ष तथा सफलताका विषय प्रस्तुत गरिने एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले बताए । सम्मेलनबाट महिलामा उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास पनि अग्रवालले व्यक्त गरे ।
व्यवसायमा स्थापित उद्यमी र स्टार्टअप बीच हुने सो एक दिने अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागीहरूलाई ज्ञान, शिप, तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको पनि आयोजकले बताएको छ ।
‘उद्यममा महिलाले भोग्नु परेका समस्याहरूलाई उठान गर्ने र समाधानका उपायहरूमा गहन छलफल गर्नु पनि सम्मेलनको उद्देश्य हो,’ संयोजक सुनुवारले भनिन्, ‘महिला उद्यमशीलता प्रवद्र्धनका चुनौतीहरूको समाधान र सम्भावनाको खोजीका निम्ति सरोकारका पक्ष तथा निकायहरूमा रचनात्मक पहल कदमीका बारेमा सम्मेलन महत्वपूर्ण हुनेछ ।’
विभिन्न क्षेत्रमा व्यवासायमा सफल महिला उद्यमीहरूको सफलता, संघर्ष र धैर्यताका अनुभवहरू आदानप्रदान गरिने लेडिज सर्कल नेपाल पूर्वअध्यक्ष रश्मी दासले बताइन् । विभिन्न सत्रका विषयबस्तु व्यवसायमा नवप्रवेशीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्ने दाबी दासले गरिन् ।
सम्मेलनमा सफल उद्यमी र स्टार्टअपहरूबीचको अनुभव साटासाटले व्यवसायको क्रममा आउने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने दक्षता विकास हुने विश्वास आयोजकको छ ।
जनसंख्यामा आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको आर्थिक सशक्तीकरण नभई अर्थसामाजिक विकास सम्भव नहुने संयोजक सुनुवारले बताइन् ।
‘अहिले पनि आर्थिक रुपमा महिलाहरूको सहभागिता र सक्रियता न्यून छ । सम्मेलनले उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तन र व्यावसायिक चुनौती सामनाको सामथ्र्य अभिवृद्धि गर्ने विश्वास लिएका छौं,’ उनले भनिन् ।