महोत्तरी । कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका भिठामोड पुनः सञ्चालन गरिएको छ । गतवर्ष चैत ११ गतेदेखि बन्द रहेको उक्त भन्सार नाका शनिवार अपराह्नपछि सञ्चालन गरिएको हो ।
दुवै देशको सहमतिपश्चात् भन्सार नाका सञ्चालन भएसँगै मालवाहक भारतीय गाडी नेपाल प्रवेश पाउन थालेका छन् । नेपाली गाडी पनि भारततर्फ जान थालेको भन्सार कार्यालयले बताएको छ । साथै दुईपांग्रे सवारीसाधन दुवैतर्फ निर्बाध रूपमा चल्न थालेका छन् ।
भारतीय चारपांग्रे गाडी नेपाल प्रवेश गरेको ७२ घण्टाअघि चालक तथा सहचालकको कोरोना जाँच गराएको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । दुईपांग्रेका हकमा सो व्यवस्था छैन । भन्सार खुलेसँगै सयौंको संख्यामा मोटरसाइकल दुवैतर्फ ओहोरदोहोर गरेका छन् । कार, जीपजस्ता चारचक्के सवारीसाधन भने फाट्टफुट्ट मात्रै प्रवेश गरेका छन् । लामो समयपछि भन्सार नाका खुलेपछि सो नाका भएर भारत जाने महोत्तरी, धनुषा, सिन्धुली लगायत जिल्लाका बासिन्दालाई सहज हुने भएको छ । रासस