ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘दशैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व’     

२०७८ असोज, २८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

असोज २८, धनुषा । हरेक वर्ष बजारले दशैंलाई नयाँ–नयाँ रौनकतासहित स्वागत गर्दछ ।

कोरोना कहरले सुस्ताएको प्रदेश नं २ को जनकपुरधाममा पछिल्लो समय चहलपहल बढेको छ । विगतका वर्ष कोरोना कहरका कारण बजार सुनसान रहेका थिए ।किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन पसलमा किनमेल गर्नेको भीड अत्याधिक देखिएकोछ ।

यसैगरी सार्वजनिक सवारीसाधन तथा एयरलाइन्समा यात्रुको बढोत्तरी देखिएको छ । दशैं र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रीत गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न ‘अफर’ सार्वजनिक गरिरहेका छन् ।     
     
उपभोगमा आधारित अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दशैंमा उपभोग हुने बताइएको छ । लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनोविनोद गर्ने, एकआपसमा खुसी साटासाट गर्ने र मान्यजनको आशीर्वाद लिने पर्वका रुपमा दशैंलाई लिइन्छ ।     
     
अर्थविद् उज्ज्वल दाहालले घरयासी खर्चको एकतिहाइ खर्च दशैंसहित चाडपर्वमा हुने गरेको जानकारी दिए । उनले भने ‘उद्योगी व्यवासायीले दशैं, तिहार र छठपर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँ नयाँ अफरसहित ग्राहकलाई लोभ्याउने भगीरथ प्रयत्न गर्दछन् । दशैंको व्यापारले वर्षभरीको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ ।’      
     
 जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले पर्वका अवसरमा विक्री वितरण बढ्नु स्वाभावित भएको बताए । उनले टिकाउवस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेट लगायतका खरीदकर्तालाई दशैंको अफर नै पर्खेर बस्ने बानी लागि सकेको छ । अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवाप्रदायक तथा होटल/ रेस्टुरेन्टले दशैंलक्षित प्याकेज विक्री गर्न थालेका छन् ।      
     
 दशैं मनाउन आ–आफ्नो गाउँघर आउनेको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । बजारमा पैसा चलायमान हुने भएकाले दशैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । दशैंतिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरीदमा छूट तथा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।

‘पहिले पनि दशैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दशैं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडा सहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरीद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ’ उनले भने ।     
     
अन्य महीनाका तुलनामा दशैंमा करीब २५ देखि ३० प्रतिशत बढी रकम ‘रेमिट्यान्स’ भित्रिने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । सोही तथ्याङ्क अनुसार औषतमा दशैंतिहार तथा छठका अवसरमा करीब १०/ १५ अर्ब रुपैयाँ रेमिट्यान्स स्वदेश भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन ।     
     
अर्थविद्का अनुसार दशैं अघिका दुई–तीन हप्ताका अवधिमा वर्षभरिको कुल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने गर्दछ । अर्थशास्त्री डा सुरेन्द्र लाभले भने, ‘दशैंतिहार तथा छठ पर्वसम्म बजारमा करीब ५अर्ब रुपैयाँको कारोबार हुने गर्दछ । चाडपर्वको आर्थिक पाटो वास्तवमा नै बृहत्त छ ।’ रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)