ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सर्लाहीको नवनिर्मित सवस्टेशनबाट आजदेखि सेवा शुरु

२०७८ कार्तिक, ५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कात्तिक ५, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा निर्माण गरिएको १३२/३३ केभीए सवस्टेशन आयोजनाले आज (शुक्रवार) बाट जिल्लाको हरिवन र लालबन्दी क्षेत्रमा विद्युत् सेवा प्रवाह शुरु गरेको छ । करीब रू. ४७ करोडको लागतमा निर्माण गरिएको उक्त आयोजनाले नजिकिँदै गरेको पर्व तिहारलाई झिलीमिली बनाउने भएको छ । 

लालबन्दी नगरपालिका–१ मा निर्माण गरिएको जिल्लाकै ठूलो आयोजनाले वितरण गरेको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सवस्टेशन निर्माण गरिएको जानकारी दिइएको छ ।

सवस्टेशनबाट विद्युत् प्रवाह भएपछि आफूहरुलाई खुसी लागेको र विद्युतीय समस्याबाट मुक्त भएको स्थानीय हरिप्रसाद धमलाले बताए । कोरोना महामारी, वर्षायाम र चाडपर्वका कारण निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसके पनि आफूहरुले काम गर्न कुनै कमी नगरेको पावाटेक वाइवा जेभी कम्पनीका प्रतिनिधि एचपी लामाले बताए ।

ट्रान्सफर्मर कात्तिक २ गतेदेखि नै चार्ज गर्न शुरु गरिएको र नवलपुरबाट विद्युत् प्रवाह शुरु भएपछि सर्लाहीमा विद्युतीय समस्या समाधान हुने आयोजना प्रमुख निरन्जन साहले बताए । उनका अनुसार समयमै काम सकेर दसैँदेखि नै विद्युत् सेवा विस्तार गर्ने लक्ष्य रहेकोमा लकडाउनका कारण समस्या परेको र अबको एक महीनामा निर्माणको सानोतिनो सबै काम सकिने भए पनि विद्युत् प्रवाह भने आजैबाट शुरु भएको छ ।

सवस्टेशन निर्माणको सम्पूर्ण काम सम्पन्न भएपछि हरिपुर तथा मलंगवाका सवस्टेशनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने आयोजना प्रमुख साहको भनाइ थियो । जिल्लाका तीन ओटै सवस्टेशन ३३/११ केभीएका मात्र रहेका कारण समस्या हुँदै आएको थियो । अब यो सवस्टेशन बनेपछि समस्या समाधान हुने विश्वास लिइएको छ ।

अहिले तीनओटै सवस्टेशनलाई धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सवस्टेशनबाट विद्युत् ल्याउनु परेकामा अब नवलपुरको सवस्टेशन निर्माण भएपछि लालबन्दी र हरिवनका लागि नवलपुरबाट सिधै र हरिपुर र मलंगवाका सवस्टेशनबाट समेत सेवा सञ्चालन हुनेछ । बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेका कारण जिल्लामा विद्युतीय समस्या रहेको थियो । 

त्यही  समस्या समाधान गर्न जिल्लामै सवस्टेशन निर्माण भइरहेको आयोजना प्रमुख साहले बताए । यो सवस्टेशनका लागि ढल्केबर ग्रिड शाखाबाट पनि सेवा सञ्चालन हुनेछ । उनका अनुसार हरिपुर र मलंगवा सवस्टेशनलाई नवलपुरले लाइन दिने र लालबन्दी तथा हरिवनका लागि नवलपुर आफैँले सेवा विस्तार गर्नेछ ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको करीब रू. ४६ करोड ३६ लाखको लागतमा आर्थिक वर्ष २०७५/०७६ देखि  सवस्टेशन निर्माणको पावाटेक वाइवा जेभी कम्पनीले निर्माणको ठेक्का पाएको थियो । कोरोना महामारी, वर्षायाम, चाडपर्व आदिका कारण म्याद थप गरेर निर्माण गरेको कम्पनीले निर्माणको सम्पूर्ण काम  आव २०७८/०७९ भित्रैसम्पन्न गर्ने गरी काम गरिरहेको निर्माण कम्पनीका प्रतिनिधि लामाले बताए ।

जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पुर्‍याउनका लागि सवस्टेशन निर्माणको काम गरिएको र अबको करीब एक महीनामा निर्माण सम्पन्न हुने उनको भनाइ थियो । सामान्य काम बाँकी रहेको र अबको करीब एक महीनामा सम्पूर्ण निर्माणको काम सम्पन्न हुनेछ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)