वीरगञ्ज । वीरगञ्जस्थित अध्यागमन कार्यालय अहिले नायब सुब्बाकै भरमा सञ्चालन हुँदै आएको छ ।
कार्यालय प्रमुख (शाखा अधिकृत) गत भदौ २३ गते अन्यत्र सरुवा भई गएपछि हाल उक्त कार्यालयमा नायब सुब्बा विवेक मुखियाले निमित्त प्रमुखका रूपमा काम गर्दै आएका छन् ।
हाल शाखा अधिकृत नहुँदा आफूले निमित्त प्रमुखका रूपमा कार्यालय सञ्चालन गर्दै आएको कार्यालयका निमित्त प्रमुखसमेत रहेका नासु मुखियाले बताए ।
उनका अनुसार यसअगावै कार्यालय प्रमुख रहेका शाखा अधिकृत राज कुशवाहा पर्साको जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएपछि हालसम्म उक्त कार्यालय निमित्तका भरमा सञ्चालन हँुदै आएको हो । शाखा अधिकृत एक, नायब सुब्बा दुई, खरिदार एक, लेखापाल एक, कम्प्युटर अपरेटर (सहायक) एक र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको यो कार्यालयमा हाल नायब सुब्बा एक, खरिदार एक, लेखापाल एक र दुई जना कार्यालय सहयोगी कार्यरत छन् । कार्यालयले भारतको बाटो हँुदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई आवश्यकताअनुसार १५/३० र ९० दिनसम्मको पर्यटन भिसा उपलब्ध गराउँदै आएको छ ।
तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई आगमनका लागि अनुमति दिँदै आएको छ । उक्त नाकाबाट भारत हुँदै तेस्रोमुलुक जाने नागरिकलाई नेपाल छाड्ने अनुमति दिने काम कार्यालयले गर्दै आएको छ । रासस