मंसिर २०, रौतहट । छिमेकी जिल्लालाई जोड्ने गरी रौतहटका विभिन्न खण्डमा सडक निर्माण हुन थालेपछि स्थानिय हर्षित भएका छन् ।
बाराको सदरमुकाम कलैयालाई जोड्ने उद्धेश्यले यतिखेर रौतहटको गरुडा–कटहरिया–कलैया सडक निर्माण कार्य भइरहेको छ ।सहरी विकास मन्त्रालय अन्तर्गत निर्माण भइरहेको सो सडक करीब २० करोड रुपैयाँको लागतमा बन्ने भएको हो ।
आश्रय निर्माण सेवा प्रालिले ६ किलोमिटर सडकमा कालोपत्र निर्माणको लागि साढे ९ करोड रुपैयाँमा साकार गरेको हो । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले ६ किलोमिटर कालोपत्रको लागि आव्हान गरेको टेण्डर साकार गरी काम थलानी गरेको निर्माण कम्पनीका निर्देशक सन्तोष साहले बताए ।
उनका अनुसार कटहरियादेखि लालबकैया पुलको बाँध नजिकको सडक निर्माण थालिएको छ । अस्फाल्ट प्रविधिबाट गरिने कालोपत्र सडकको चौडाई ७ मिटर रहने उनको भनाइ छ । सडक निर्माणका लागि ११ ओटा कल्भर्ट र १ स्थानमा ४६ फिट आरसिसी कल्भर्ट निर्माण हुने योजना रहेको निर्माण कम्पनीका निर्देशक साहले बताए ।
सोमध्ये ५ ओटा कल्भर्ट निर्माण कार्य पुरा भइसकेको छ । यस आर्थिक वर्षमा सडक निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ काम भइरहेको पनि उनले बताए ।सडक निर्माण भएपछि लामो दूरीको यात्रा गर्नु पर्ने वाध्यता हट्ने र कृषि उपजलाई बजारिकरणमा सहज हुने स्थानिय जनप्रतिनिधि चन्दन कुश्वाहले बताए ।
यहाँ उत्पादित तरकारी, फलफूल तथा अन्न बाली कलैया बजारसम्म पुर्याउन सहज हुने र ढुवानी खर्च पनि कम लाग्ने उनको भनाइ छ । यस सडक निर्माण भएपछि यहाँ चहलपहल बढ्ने र आर्थिक गतिविधि पनि बढ्ने उनको विश्वास छ ।
धुलाम्ये यात्रा गर्दै आएका स्थानिय भने ढिलैभए पनि कालोपत्र सडक निर्माण हुने भएपछि खुसी व्यक्त गरेका छन् ।
पहिलो चरणमा माटो पुर्ने र त्यसलगत्तै ग्राभेल राखेर ५ सेन्टिमिटर अक्सफाल्ट प्रविधिबाट कालोपत्रे निर्माणको काम शुरु गरिने निर्माण कम्पनीका संस्थापक रामाश्रय साहले बताए ।
मुन्ना निर्माण सेवा प्रालिले झांझपुलदेखि दुधियाभारसम्मको २ किलोमिटर सडक निर्माणको जिम्मा पाएको छ ।
यस्तै सर्लाहीको विभिन्न स्थानलाई जोड्ने गरी सडक तथा पुल निर्माणका कार्य पनि भइरहेको उक्त कार्यालयले बताएको छ ।