रौतहट । छिमेकी जिल्लासँग जोड्नेगरी रौतहटका विभिन्न खण्डमा सडक निर्माण तीव्र पारिएको छ । बाराको सदरमुकाम कलैयालाई जोड्ने उद्देश्यले गरुडा–कटहरिया–कलैया सडक निर्माण भइरहेको छ । शहरी विकास मन्त्रालय अन्तर्गत करीब २० करोड रुपैयाँ लागतमा उक्त सकडको निर्माण अघि बढाइएको छ ।
आश्रय निर्माण सेवा प्रालिले सडक निर्माणको ठेक्का पाएको छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले ६ किलोमिटर कालोपत्रका लागि आह्वान गरेको टेण्डर सकार गरी काम थालिएको निर्माण कम्पनीका निर्देशक सन्तोष साहले बताए । उनका अनुसार कटहरियाबाट लालबकैया पुलको बाँध नजिक सडक निर्माण थालिएको छ ।
अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिने सडकको चौडाइ ७ मिटर रहने उनको भनाइ छ । सडक निर्माणका लागि ११ ओटा कल्भर्ट र १ स्थानमा ४६ फिट आरसीसी कल्भर्ट निर्माण हुने योजना रहेको निर्माण कम्पनीका निर्देशक साहले बताए । सोमध्ये ५ ओटा कल्भर्ट निर्माण पूरा भइसकेको छ । यस आर्थिक वर्षमा सडक निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए ।
सडक निर्माण भएपछि लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने र कृषि उपजलाई बजारीकरणमा सहज हुने स्थानीय जनप्रतिनिधि चन्दन कुशवाहले बताए । यहाँ उत्पादित तरकारी, फलफूल तथा अन्नबाली कलैया बजारसम्म पु¥याउन सहज हुने र ढुवानी खर्च पनि कम लाग्ने उनको भनाइ छ ।
धुलाम्मे सडकमा यात्रा गर्दै आएका स्थानीयवासीले कालोपत्र हुने भएपछि खुशी व्यक्त गरेका छन् । पहिलो चरणमा माटो पुर्ने र त्यसलगत्तै ग्राभेल राखेर ५ सेन्टिमिटर कालोपत्र गरिने निर्माण कम्पनीका संस्थापक रामाश्रय साहले बताए ।
मुन्ना निर्माण सेवा प्रालीले झांझपुलदेखि दुधियाभारसम्म २ किलोमिटर सडक निर्माणको जिम्मा पाएको छ । यस्तै सर्लाहीको विभिन्न स्थानलाई जोड्नेगरी सडक तथा पुल निर्माण भइरहेको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले बताएको छ ।