मंसिर २७, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार वीरगञ्ज वडा नं ८ घण्टाघरस्थित सडकखण्डबाट आइतबार उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज वडा नं १० का चन्दन कुमार साह र ओमप्रकाश गुप्ता छन् । घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना १६ प ५४४६ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुलाई चेकजाँच गर्दा साहले बोकेको ब्यागमा स्रोत नखुलेको सो रकम फेला परेको प्रहरी नायव उपरीक्षक खनालले बताए ।
दुवै जनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।