मंसिर २८, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले निर्माण गरेको अस्पालजन्य फोहोर व्यवस्थापन केन्द्र सोमवारदेखि सञ्चालनमा आएको छ ।
वीरगञ्जका अस्पतालहरूले उत्पादन गर्ने फाहोर व्यवस्थापनका लागि यो संरचना तयार पारिएको हो । राष्ट्रिय योजना आयोग र महानगरको ६ करोड २२ लाख रुपैयाँको लागतमा वीरगञ्ज–१६ मा निर्माण भएको सो ‘ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’ को वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरेका हुन् ।
वीरगञ्ज महानगर क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाबाट निस्किएको फोहोर पदार्थ, मानव अङ्गलगायतलाई अत्याधुनिक उपकरणबाट व्यवस्थापन गर्न सेन्टरको निर्माण गरिएको प्रमुख सरावगीले बताए ।
अस्पतालजन्य फोहोरको उचित व्यवस्थापनका लागि सेन्टर सहयोगी सावित हुने विश्वास सरावगीले व्यक्त गरे । ‘अस्पतालजन्य फाहोरको व्यवस्थित विसर्जन नहुँदा नगरवासीको स्वास्थ्यमा नकरात्मक असर पर्दै आएको थियो । अब यो समस्याको अन्त्य हुनेछ,’ सरावगीले भने ।
उद्घाटन समारोहमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा वीरेन्द्रबहादुर प्रधानले वीरगञ्जमा फोहोर व्यवस्थापन केन्द्र पहिलो पटक सञ्चालमा आएकोमा खुशी व्यक्त गरे ।