पुस २, वीरगञ्ज । आयात निर्यातकर्ताले अब भन्सार राजस्व अनलाइनका माध्यमबाटै तिर्न सक्ने भएका छन् ।
भन्सार विभागले वीरगञ्जको सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई यो सेवाको परीक्षण कार्यान्वयन शुरू गरेको छ ।
भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बिहीवार एक समारोहका बीच यसको शुरुआत गरेका हुन् । माघ महीनाभित्र देशका सबै भन्सार कार्यालयमा अनलाइन माध्यमबाटै राजस्व तिर्ने प्रणाली विस्तार गरिने सापकोटाले जानकारी दिए ।
नेपाल क्लियरिङ हाउस र भन्सार विभागको आशिकुडा वल्र्डबीच सम्पर्क स्थापित गरी यो प्रणालीको शुरूआत गरिएको भन्सार विभागले बताएको छ । यो प्रणालीमार्फत प्रयोगकर्ताले नेपाल क्लियरिड हाउसको कनेक्ट आईपीएस, मोबाइल एप, कर्पोरेट पे, एनएचसीएल बैंक सेन्टर र एलएचसीएलमार्फत राजस्व भुक्तानी गर्न सक्ने सुक्खा बन्दरगाह भन्सारका प्रमुख लालबहादुर खत्रीले बताए ।
वाणिज्य बैंकहरुले प्रदान गर्ने ई - बैंकिङ सेवामार्फत पनि राजस्व तिर्न सकिने भन्सार कार्यालयले बताएको छ ।
प्रयोगकर्ताले रियल टाइम ट्रान्जेक्सनमार्फत प्रतिकारोबार २० लाख रुपैयाँसम्म र नन रियल टाइम ट्रान्जेक्सनबाट ३० करोड रुपैयाँसम्म भुक्तानी गर्न सक्ने छन् । सेवाग्राहीले भन्सारमा प्रज्ञापनपत्र स्वीकृत भएपछि त्यसका विवरणहरू प्रविष्ट गरी भुक्तानी गर्न सक्ने भन्सारले जनाएको छ ।
यो प्रणालीको प्रयोगबाट राजस्व बुझाउन भन्सार एजेन्टहरूले नगद रकम बोक्नुपर्ने, गुड फर पेमेन्ट चेक तयारीका लागि बैंकमा धाउनुपर्नेलगायतका समस्याबाट मुक्ति मिल्ने भन्सार एजेन्ट मुर्तुजा अहमदले बताए ।
बैंकहरूले यसबाट भन्सार राजस्वका लागि नगद र चेकको लगत व्यवस्थापन पनि गर्नु नपर्ने र दाखिला भएको राजस्वको तथ्यांक तत्कालै प्राप्त गर्न सकिने भन्सार विभागले जानकारी दिएको छ ।