पुस ४, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विभिन्न क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
महानगरका प्रमुख विजयकुमार सरावगीले यस्तो सहयोग हस्तान्तरण गरेका हुन् ।
नगर प्रमुख सरावगीले लायन्स क्लबले उपलब्ध गराएको १ लाख अमेरिकी डलर र वीरगञ्ज महानगरको ४७ लाख रुपैयाँको लगानीमा स्थानीय श्रीपुर बिद्यापीठ माविमा निर्माण हुन लागेको वहुउद्देश्यीय हल निर्माणका लागि चेक हस्तान्तरण गरेका छन् ।
महानगरले आर्थिक रुपमा विपन्नहरूको आँखाको निःशुल्क उपचारका लागि पनि आर्थिक सहयोग प्रदान गरेको छ । नगरस्तरीय बजेटबाट विपन्न व्यक्तिहरूको अँखाको निःशुल्क शल्यक्रिया गर्न ५ लाख रुपैयाँ सहयोग गरेको नगर प्रमुख सरावगीको सचिवालयले बताएको छ ।
नगर प्रमुख सरावगीले आफ्नो तलव भत्ताबाट सञ्चालन गरेको मेयर कल्याणकारी कोषबाट चार जना जेहेन्दार तथा विपन्न छात्रछात्रालाई अध्ययनका लागि सहयोग गरेका छन् । उनले चार जना विद्यार्थीलाई चेक हस्तान्तरण गरेका हुन् ।