पुस ५, सर्लाही । सर्लाहीको मलंगवाबाट नक्कली नेपाली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
उनीहरूको साथबाट रू. एक लाख १५ हजार बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा भारतको सोनवर्षाका ३७ वर्षीय सुरेन्द्र महतो (आषिश) र ४८ वर्षीय प्रमोद कुमार रहेका सशस्त्र प्रहरीले जानकारी दिएको छ । नक्कली नोट बोकेर भारतीय बजार सोनवर्षाबाट नेपालतर्फ प्रवेश गर्न लाग्दा नाकामै उनीहरू पक्राउ परेका हुन् ।
सीमा छेउको गोरखकालीस्थित भन्सार कार्यालय अगाडि ड्युटिमा बसेका सशस्त्र प्रहरीले उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेका हुन् ।
सशस्त्र प्रहरी बल १० नं गणका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत खनियाँका अनुसार उनीहरू बीआर ३० वाइ ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा आएका थिए । ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्ने क्रममा मोटरसाइकलको डिक्की र सिटको बीचमा लुकाएर ल्याएको रू. एक हजार दरका ११५ नोट बरामद भएको हो ।
पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई शनिवार नियन्त्रणमा लिएको भए पनि सोमवार मात्रै सार्वजनिक गरिएको हो । रासस