रुकुम । भूमे गाउँपालिकाले एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । रुकुम पूर्वको भुमे गाउँपालिकाले २० करोड रुपैयाँको लागतमा उक्त क्षमताको जलविद्युत् आयोजना बनाउन लागेको हो । गाउँपालिकाले जलविद्युत् आयोजना बनाउने प्रक्रिया अघि बढाइएको बताएको छ । गत आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रममा विद्युत् निर्माण गर्ने उल्लेख थियो । सोही अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाले आधारभूत काम पनि गरिसकेको छ ।
उक्त आर्थिक वर्षमा गाउँपालिकाले साढे १३ लाख रुपैयाँ खर्चेर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । सोही प्रतिवेदन अनुसार आयोजनाको बाँकी काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले जानकारी दिएका छन् । उनले भने, ‘भुमे गाउँपालिका ६ नम्बर वडाको दोमहीमा विद्युत्गृह रहनेगरी गाउँपालिकाले आयोजना निर्माण अघि बढाएको छ ।’
थवाङखोला जलविद्युत् आयोजना निर्माणको कानूनी तथा अन्य प्रक्रियागत काम भइरहेको गाउँपालिका अध्यक्ष बुढाले बताए । सरकार–जनताको सयुंक्त लगानीमा उक्त विद्युत् आयोजना निर्माण गर्न लागिएको हो । आयोजनामा ५१ प्रतिशत भूमे गाउँपालिका र ४९ प्रतिशत शेयर बापतको रकम सर्वसाधारणले लगानी गर्ने तयारी भइरहेको छ । हाल नेपाल धितो बोर्डसँग शेयर निष्कासनको अनुमति र विद्युत् प्राधिकरणसँग विद्युत् खरिदविक्री सम्झौता प्रक्रिया अघि बढाइएको अध्यक्ष बुढाले बताए । शेयर निष्कासन अनुमति र विद्युत् खरिद–विक्री सम्झौतापछि आयोजनाका बाँकी काम अघि बढ्ने उनको भनाइ छ ।
विद्युत् उत्पादनपछि विद्युत् खपतको ग्यारेन्टीका लागि विद्युत् प्राधिकरणसँग पूर्व सम्झौता गरिने अध्यक्ष बुढाले बताए । आयोजना निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९ मा २ करोड बजेट विनियोजन गरेको छ ।