सुर्खेत । भेरी कोरिडोर लिफ्ट सिँचाइ आयोजनाबाट किसानले लाभ लिन थालेका छन् । भेरी नदी किनाराको जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित उक्त परियोजनाबाट पानी पुगेपछि कृषकले बाँझो खेत हरियाली बनाएका छन् । अहिले सौर्य शक्तिमा आधारित लिफ्ट प्रविधिको माध्यमबाट आयोजनाको पानी खेतसम्म पु¥याइएको छ । सिँचाइ सुविधा पुगेपछि तरकारी उत्पादन गरेर कृषकले आयआर्जन गर्न थालेका छन् ।
केही समय पहिले भेरी नदी किनारका गाउँलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्थ्यो । खेतीपातीका लागि किसानले आकाशे पानी कुर्नुपथ्र्यो । आकाशे पानीको भरमा खेती गरेर उब्जाइएको अन्नले वर्षभर खान पुग्दैनथ्यो । तर, अहिले लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि गाउँको मुहार नै फेरिएको छ । बाह्रै महीना गाउँमा सिँचाइ सुविधा पुगेपछि कतिपय युवा विदेश जाने सोच त्यागेर गाउँमै तरकारीखेतीमा लागेका छन् । यसबाट मनग्गे आम्दानी गर्न सफल भएको स्थानीय अगुवा कृषक देवेन्द्र ठकुरीले बताए ।
वर्षौंदेखि सुक्खा जमिनमा आयोजनाले सिँचाइ पुर्याएपछि कृषक उत्साहित छन् । अहिले आधुनिक तरकारीखेतीसँगै धान, गहुँ र मकै जस्ता अन्नबालीको उत्पादन वृद्धिले जीवनस्तरमै सुधार आएको अर्का कृषक मनसरा खड्काले बताइन् ।
आयोजनाले यस वर्ष पूर्वी सुर्खेतको घोरेटादेखि सल्यानको देवस्थल हुँदै पश्चिम सुर्खेतको घाटगाउँसम्म १२५ किलोमिटर क्षेत्रमा सोलार सिँचाइ, लिफ्ट सिँचाइ, सतह सिँचाइ, कुलो मर्मत र नदी नियन्त्रण कार्य अघि बढाएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी लेखनाथ सुवेदीले बताए । भेरी कोरिडोर सिँचाइ आयोजनाको ४२ प्रतिशत भौतिक प्रगतिसँगै करिब ६ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याइएको जानकारी उनले दिए । उनका अनुसार आयोजनाको कुल भौतिक प्रगति हालसम्म ४९ दशमलव ५ प्रतिशत भएको छ । २ वर्षभित्र आयोजनाले ६ हजार ८०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । करीब ४ अर्ब रुपैयाँ लागतको यो आयोजना भेरी नदी किनारका बासिन्दाको समृद्धिका लागि कोसेढुंगा सावित हुने अपेक्षा राखिएको छ ।