पुस १३, काठमाडौं। चितवनको चार तारे होटल सिराइचुलीका लगानीकर्ताहरुको समूहले कल्याणपुरमा हाउजिङ परियोजना ल्याउने भएका छन्।
सिराइचुलीमा राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठसहित चितवनका २१ जना व्यावसायीहरुको लगानी रहेको छ। उनिहरु २१ जना मध्येबाटै कल्याणपुरमा हाउजिङ परियोजना ल्याउन लागिएको हो।
१ बीघा, २ कठ्ठा १० धुर क्षेत्रफलमा १४ ओटा लक्जरी घरहरुको निर्माण सुरु भएको छ। अम्बे माँ कन्सट्रक्सन प्रालिले घरहरु निर्माणको काम शुरु गरिसकेको छ। अवको एक वर्षभित्र घरको निर्माण सक्ने र थप ६ महीनामा इन्टेरियर डिजाइनको काम सकेर डेढ वर्षभित्र बस्न मिल्ने गरि तयार हुने सिराइचुलीका लगानीकर्ता सुदीपसिंह अधिकारीले बताए।
हाउजिङ भित्र २ कठ्ठा क्षेत्रफलको खुल्ला क्षेत्र, २०/३० फिटको स्विमिङ पुल, व्याडमिन्टन कोर्ट र मन्दिर निर्माण हुने छ। वास्तु मिलाउँदा सबैजसो घर पूर्व मोहडामा परेकाले बाटोमा पनि ठूलो क्षेत्रफल गएको अधिकारीले बताए।
'२२ कठ्ठा जमीनमध्ये घरले ओगट्ने क्षेत्रफल ७ कठ्ठा मात्रै हो। यस हिसाबले त दुई तिहाईभन्दा बढी क्षेत्रफल खुल्ला रहने छ', अधिकारीले भने।
अढाई तलका घरमा ५ बेडरुम, अट्याच वाथरुम, लिभिङ, डाइनिङ, किचन, स्टोर र पूजा कोठासहित हरेक घर ३ हजार ७५ वर्गफिट क्षेत्रफलको हुने छन्।
३ वर्ष अघि नै जग्गा खरीद गर्दा प्रतिकठ्ठा ३५ देखि ४० लाख रुपैयाँमै खरीद भएकोले जग्गा खरीदमा ९ करोड रुपैयाँ हाराहारी रकम खर्च भएको सिराइचुली होटलका अध्यक्ष चुडामणी खनालले बताए। १४ ओटा घर निर्माण सम्पन्न हुँदा २ करोड ५० लाख रुपैयाँ हाराहारीमै तयार हुने अनुमान गरिएको उनले बताए।
चितवनबाट ८ किलोमिटर दक्षिणमा रहेको कल्याणपुर शान्त वातावरण भएको ठाउँ हो। महानगरभित्रको भीडभाडबाट शान्त ठाउँमा आराम गर्ने उद्धेष्यले हाउजिङ निर्माण गर्न लागिएको हो। व्यावसायिक साथीहरु एक ठाउँमा बस्दा सरसल्लाह गर्न र योजना बनाउन पनि सहज हुने भएकाले संयुक्त आवाशको योजना अघि बढेको पनि खनालले बताए।
काठमाडौं उपत्यकामा चक्रपथ बाहिर ५ किलोमिटरसम्मको दुरीमा यत्तीको घर निर्माण गर्न ४ देखि ५ करोड रुपैयाँसम्म खर्च लाग्ने निर्माण कम्पनीहरुले बताएका छन्।
चितवनमा भने जग्गाको मूल्य केहि सस्तो र निर्माण सामाग्री पनि काठमाडौंको तुलनामा सस्तो हुने भएकाले २ करोड ५० लाख रुपैयाँमै घर तयार हुने अनुमान गरिएको अधिकारीले बताए। चितवनमा यसअघि व्यवसायी कालु गुरुङको समूहले व्यावसायिक हाउजिङ निर्माण गरेपनि व्यावसायिक साझेदारहरुले आफ्नै लागि निर्माण गरेको यो पहिलो हाउजिङ हो।