ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धुलियाबिट–भेडाबारी सडकखण्ड : ट्र्याक खुलेको साढे ४ दशकपछि कालोपत्र हुँदै

२०७८ पौष, १५  
कर्णाली प्रदेश विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । वर्षात्मा हिलाम्मे र हिलाम्मे हुनु सुर्खेतका ग्रामीण सडकको मुख्य समस्या हो । जिल्लाका अधिकांश ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर, जिल्ला सदरमुकामदेखि गाउँसम्मका लागि खोलिएका अधिकांश ग्रामीण सडकको स्तरोन्नति समयमा गर्न नसक्दा चालक, यात्रु र स्थानीयले कष्ट भोग्नु परिरहेको छ । तर, पछिल्लो समय मदन भण्डारी राजमार्गले छोएपछि धुलियाबिट–भेडाबारी सडकको अवस्था भने फेरिएको छ । ट्र्याक खुलेको करिब साढे चार दशकपछि यो सडकको कालोपत्र गर्न लागिएको छ । तत्कालीन राजा वीरेन्द्र सुर्खेत आउने भएपछि उनलाई देखाउनकै लागि २०३२ सालमा यो सडकको ट्र्याक खोलिएको थियो । त्यसयता लामो समयसम्म स्तरोन्नति र कालोपत्र हुन नसकेको सडकलाई मदन भण्डारी राजमार्गले छोपछि अहिले कालोपत्रको काम शुरू गर्न लागिएको हो ।

जिल्लाकै पुरानो सडकमध्येको एक धुलियाबिट–भेडाबारी सडकको कालोपत्रको ठेक्का कालिका वेदान्सी जेभीले पाएको छ । राजमार्ग आयोजना निर्देशनालयलले सडक स्तरोन्नति तथा कालोपत्रका लागि गत वैशाखमा एक अर्ब ५१ करोड रुपैयाँमा बोलपत्र आह्वान गरेको थियो । कम्पनीले घटेर एक अर्ब तीन करोड रुपैयाँमा सम्झौता गरेको छ ।

उक्त सडकले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाबिटबाट भेरीपारिका बस्ती लेकबेसी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार अब यो सडकखण्ड नौ मिटर चौडाइसम्म कालोपत्र गरिने भएको छ । डीपीआर अनुसार बोटेचौरदेखि धुलियाबिटसम्म ३५ किलोमिटरभन्दा बढी स्तरोन्नती हुनेछ ।

३५ किलोमिटर लामो धुलियाबिट–भेडाबारी सडकखण्ड करिब ४ मिटरमात्र चौडा थियो । यो सडक स्तरोन्नति भए वीरेन्द्रनगर नगरपालिकाका ११ र १३, लेकबेसी नगरपालिकाका १, २, ३, ४, ६, ७, ९ र १० तथा गुर्भाकोट नगरपालिकाका १०, ११, १२, १३ र १४ का स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

जनप्रतिनिधिसँग नागरिकले अपेक्षा गरे अनुरूप आफ्नो पहलमा कालोपत्रको काम अघि बढाउन लागिएको सुर्खेतका प्रतिनिधिसभा सांसद ध्रुवकुमार शाहीले बताए । धुलियाबिट–भेडाबारी सडकखण्डलाई कालोपत्र बनाउने नागरिकसँगको आफ्नो चुनावी वाचा पूरा भएको दाबी उनले गरे । ‘भेडाबारी सडकखण्ड पूर्वी सुर्खेतका नागरिकको लाइफलाइन हो,’ उनले भने, ‘चुनावमा सडक पक्की बनाउन नागरिकसँग गरेको वाचा पूरा गरेको छु ।’

लेकबेसी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले धुलियाबिट–भेडाबारी सडकको स्तरोन्नतिले नगरको समृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रिय राजमार्ग अनुरूपको गुणस्तरीय सडक बनाउनेतर्फ अहिले जनप्रतिनिधिसँगै आम नागरिकको समेत खबरदारी आवश्यक रहेको उनले औंल्याए ।

यसअघि धुलियाबिट–भेडाबारी–काल्चे–सल्यानको कालिमाटी, दाङ तुल्सीपुर हुँदै महेन्द्र राजमार्गको लमही जोड्ने दु्रतमार्गको रूपमा समेत रेखांकन गरिएको थियो । अब सडक कालोपत्रको काम सकिएपछि पूर्वी सुर्खेतका नागरिकले सहज यातायात सुविधा पाउनेछन् । सुर्खेतबाट काठमाडौं जान समेत हालको भन्दा ५० किलोमिटर छोटो पर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)