रुकुम । रुकुम पश्चिमको ७९ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । जिल्लाको अधिकांश घरधुरीमा विद्युतीकरण हुँदा आठबिसकोट नगरपालिकामा भने सहज रूपमा विद्युत् सुविधा पुग्न सकेको छैन । नगरपालिकाका वडा नं ९ र ३ वडा र स्थानीय उत्पादनबाट ६ ७, ८, १० र ११ का केही बस्तीमा विद्युत् पुगेको छ । वडा नम्बर १, २, ४, ५, १२, १३ र १४ का ग्रामीण बस्तीमा भने विद्युतीकरण हुन सकेको छैन ।
दुर्गम गाउँमा समयमै विद्युत् नपुग्दा समस्या भएको स्थानीय नवीन चनेलले बताएका छन् । विद्युत् विस्तारमा ढिलासुस्ती हुँदा सडक छेउमा गाडिएका पोल र टाँगिएका तारहरू अव्यवस्थित रूपमा छन् । वडा नं ६ का केही बस्तीमा भने स्थानीय रिजिगाड खोलाको लघु जलविद्युत् आयोजनाबाट बत्ती बलेको छ । उक्त ठाउँमा पनि विद्युत् नियमित नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । यस्तै आठबिसकोट नगरपालिकाका सानिबार्खु, ठुलिबार्खु, गोइरी, गत्तासैना, घेत्मा लगायत गाउँका बासिन्दाले पनि विद्युत् उपयोग गर्न पाएका छैनन् ।
जिल्लामै सबैभन्दा कम विद्युतीकरण आठबीसकोट नगरपालिकामा भएको छ । अझै पनि आठबीसकोटका ५३ प्रतिशत बस्तीमा विद्युत् पुग्न बाँकी छ । रुकुम उज्यालो कार्यक्रममार्फत जिल्लाका धेरै ठाउँमा विद्युतीकरण भए पनि आठबिसकोटका ग्रामीण भेगका जनता त्यसबाट लाभान्वित हुन सकेका छैनन् ।
बजार क्षेत्र र सदरमुकाम केन्द्रित विकासले गाउँका जनताको जीवन शैलीमा परिवर्तन ल्याउन नसकेको स्थानीय बताउँछन् । बिजुली नहुँदा विद्युत्मार्फत हुने काम गर्न समस्या हुने गरेको छ ।
आठबिसकोटका सबै ठाउँमा विद्युतीकरणका लागि काम भइरहेको नेपाल विद्युत् प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले बताए । हामीले काम गरिरहेका छौं, आठबिसकोटका अधिकांश बस्ती विकटमा रहेकाले सामान ढुवानी गर्न समस्या भएको उनको भनाइ छ । चालू आर्थिक वर्षभित्रै रुकुम पश्चिमका सबै वडामा विद्युत् पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।