काठमाडौं (अस) । अपि पावरले धनुषाको ढल्केबरमा निर्माण गरेको १ मेगावाटको सौर्य विद्युत् आयोजना सोमबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । धनुषाको मिथिला नगरपालिका–१ स्थित ढल्केबर सौर्य विद्युत् आयोजनाको विद्युत् ११ केभी प्रसारण लाइनमार्फत ढल्केबर सब–स्टेसनमा जोडिएको हो । विद्युत् प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् प्रतियुनिट ७ दशमलव ३० रुपैयाँमा खरिद गर्नेछ । कम्पनीले साढे ४ बिघा क्षेत्रफलमा ४५० वाटका २ हजार ६८८ वटा सौर्य प्यानल राखेर विद्युत् उत्पादन सुरु गरेको हो ।
व्यापारिक विद्युत् उत्पादन गर्ने उद्देश्यले निजी लगानीमा सौर्य विद्युत् आयोजनामा सञ्चालनमा आएको हो । ९ करोडभन्दा बढी रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी छ ।
सौर्य विद्युत् आयोजना प्रसारण प्रणालीमा जोडिएपछि धनुषाको विद्युत् वितरण प्रणालीमा सुधार भई यहाँका उद्योगमा दिगो र गुणस्तरीय विद्युत् प्रवाह हुने अपि पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । विद्युत् उत्पादनको क्षेत्रमा काम गर्दै आएको कम्पनीले यसअघि ८ दशमलव १० मेगावाटको बुटबलको तिलोत्तमामा, ८ मेगावाटको परवानीपुर, ५ मेगावाटको रौतहटको चन्द्रनिगाहपुर र सिमरामा १ मेगावाट सौर्य विद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।