पुस १८, वीरगञ्ज । तराईमा शितलहर शुरु भएसँगै वीरगञ्ज महानगरपालिकाले न्यानो कपडा वितरण अभियान शुरु गरेको छ ।
महानगरका प्रमुख विजयकुमार सरावगीले आइतवार वीरगञ्जमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण अभियानको शुरूआत गरेका हुन् ।
महानगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउनका लागि न्यानो कपडा वितरण थालिएको सरावगीले बताए । महानगरको वडा नम्बर १४ बाट यो अभियानको थालनी गरिएको छ ।
महानगरपालिकाको जनकल्याणकारी योजनाअन्तर्गत माहानगरका ३२ ओटै वडाका ज्येष्ठ नागरिकहरुलाई प्रत्येक व्यक्ति एक पिस कम्बल, झुल, छाता र टर्च वितरण गरिने उनले जानकारी दिए । करीब ६ हजार व्यक्तिलाई वितरण गरिने महानगरले बताएको छ ।
बढ्दै गएको चिसोबाट महानगरक्षेत्रका कोही पनि ज्येष्ठ नागरिक तथा विपन्न परिवारले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले महानगरपालिकाले न्यानो कपडा वितरण अभियान चलाएको नगर प्रमुख सरावगीले बताए ।