ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा बढ्दो द्वन्द्व : नगर प्रमुखकै अगुवाइमा जगदम्बा स्टीलको भट्टी हटाउने अभियान 

२०७८ पौष, १९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

पुस १९, वीरगञ्ज । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा पर्ने जीतपुर - सिमरा उपमहानगरपालिकाका प्रमुखकै अग्रसरतामा जगदम्बा स्टीलको उत्पादन युनिट हटाउने अभियान थालिएको छ । 

जगदम्बा स्टीलले प्रदुषण फैलाउनुका साथै र स्थानीयको दैनिकीमा दुर्घटनाको जोखिम उत्पन्न गरेको भन्दै नगर प्रमुख कृष्ण पौडेलको अगुवाईमा यस्तो पहल थालिएको हो ।जगदम्वा स्टीलले प्रदुषण नियन्त्रणमा लापरवाही गरेको भन्दै पटक- पटक स्थानीयले प्रदर्शन गर्दै आएका छन् । 

उद्योग व्यवसायजन्य सुरक्षामा गैरजिम्मेवार बनेका कारण पटक- पटक दुर्घटना भइरहेको र यसबाट स्थानीय बासिन्दा जोखिममा परेको उनीहरूको दाबी छ । कोरिडोरका उद्योग र स्थानीय बीच द्वन्द्वका घटना बढेर गएका छन् । 

उद्योग र स्थानीय बीच बारम्बार द्वन्द्वका घटना दोहोरिएपछि केही दिनअघि नगरप्रमुख पौडेलको अध्यक्षतामा बसेको सर्बपक्षीय भेलाले मानववस्ती बीचमा सञ्चालित सो उद्योगको कवाड गलाउने भट्टी त्यहाँ सञ्चालन गर्न नदिने निष्कर्ष निकालेको हो । कवाड भट्टी अन्यत्र सारेरमात्र उद्योग सञ्चालनका लागि सरोकारका निकायमा पहल गर्ने निर्णय भेलाले गरेको स्थानीय अगुवा मनोज पौडेलले जानकारी दिए । 

उद्योगले स्थानीय बजारबाट संकलित कवाडी फलाम गलाएर बिलेट उत्पादन गर्दै आएको छ । कवाड गलाउने भट्टी एक वर्षभित्र अन्यत्र सार्न स्थानीय प्रशासनमार्फत सम्बन्धित निकायमा पहल गरिने भएको छ । उद्योगले प्रदुषण नियन्त्रणको प्रतिबद्धता गरे पनि पालना नगरेको स्थानीयको गुनासो छ ।
 
यसको विरोधमा स्थानीयले पटक - पटक उद्योगको गेटमा तालाबन्दी गरिसकेका छन् । विगतमा स्थानीय प्रशासनको रोहवारमा उद्योगले प्रदुषण नियन्त्रण अपनाएर सञ्चालनको सहमति गरेको थियो । उद्योगले सहमति पालना नगरेको स्थानीयले बताउँदै आएका छन् । 

उद्योगको ग्यास प्लान्टसमेत बस्तीसँग जोडिएकाले दुर्घटनाको जोखिम बढेको पौडेलले बताए । ग्यास प्लान्टलाई ३ महीनाभित्र उद्योगको मूल परिसरभित्र सार्न अल्टिमेटम दिइएको छ । 

केही दिनअघि ग्यास प्लान्ट लिक भएको भन्दै स्थानीयको एक समूहले उद्योगमा प्रवेश गरी तोडफोड गरेको थियो । तोडफोडबाट करोडौं मूल्यको उपकरण र संरचनामा क्षति पुगेको उद्योगले बताएको थियो ।

स्थानीयलाई प्रदुषणको सकस र औद्योगिक दुर्घटनाको जोखिम दिएको उद्योगले रोजगारीमा भने भारतीय नागरिकलाई प्राथमिकतामा राखेको गुनासो स्थानीयको छ । रोजागारीमा स्थानीयलाई प्राथमिकता दिइनु पर्ने निर्णय पनि सर्वपक्षीय भेलाले गरेको छ ।  

उद्योगले तत्काल कम्तीमा ६० जनालाई नियमित रोजगारीको व्यवस्था मिलाउनुपर्ने भेलाको माग छ । उद्योग परिसरका विभिन्न उत्पादन युनिटमा प्रत्यक्ष र परोक्ष करीब १ हजार कामदार/कर्मचारी कार्यरत रहेको उद्योग व्यवस्थापनले बताउने गरेको छ ।  उद्योग सञ्चालन गर्दा उत्पन्न हुने ध्वनी र कम्पनको व्यवस्थापन र प्रदुषण नियन्त्रणका लागि काराखानाभित्र र बाहिर पर्याप्त हरियालीको व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

उद्योगले सार्वजनिक जग्गा मिचेको आरोप पनि लागेको छ । यस्तो जग्गा निश्चित गरी संरक्षणको पहल गर्ने निर्णय भएको छ । मुख्य राजगमार्गमा जथाभावी ढुवानीका साधन पार्किङ गर्दा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै उद्योग परिसिरमै व्यवस्था मिलाउन पनि भनिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)