पुस २०, जनकपुर । भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर कर्पोरेसन अफ इन्डिया (कोन्कर) को टोलीले मंगलवार कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गरेको छ ।
कोन्करका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयारी पारिएको भौतिक पूर्वाधार र नेपालतर्फ भइरहेको तयारीबारे निरीक्षण गरेको हो ।
सो टोलीलाई जनकपुरधामस्थित रेल्वे स्टेशनमा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले स्वागत गरेका थिए । सो क्रममा महाप्रबन्धक झाले टोलीलाई नेपालमा रेल सेवा सञ्चालनका लागि भइरहेको कानूनीलगायत अन्य तयारी बारे जानकारी गराएका थिए ।
निरीक्षण पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै निर्देशक सिंहले भारत सरकार नेपालमा छिट्टै रेल सेवा सञ्चालन गर्न चाहेको बताए।
उनले नेपालमा रेल सञ्चालनका लागि तयारी भइरहेकाले छिट्टै सेवा सञ्चालन हुने विश्वास व्यक्त गरे। निर्देशक सिंहले भने, ‘अहिले सञ्चालन हुन लागेको रेल सेवा सानो मात्र हो, हामी चाहन्छौं, नेपालमा पनि ठूलो र लामो दूरीको रेल सेवा सञ्चालन होस्, त्यसमा हाम्रोतर्फबाट सहयोग हुन्छ ।’
नेपाल रेल्वे कम्पनी लिमिटेडले सञ्चालनका लागि २०७७ असोज २ गते भारतीय रेल्वेबाट ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरीद गरेर ल्याए पनि अझै सञ्चालमा आउन सकेको छैन् । ती दुई ओटै सेट रेल अहिले धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा राखिएको छ । रासस