महोत्तरी । पुस महिना सकिँदै लाग्दा महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत पर्वको चटारो परेको छ । पर्व नजिकिँदै जाँदा किसानलाई काम भ्याइनभ्याइ भएको छ । मिथिलामा माघ संक्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ । ‘पवनी (पर्व)ले छोपिसक्यो, घरको कामकाज सक्न र फसल बजार पुर्याउन भ्याइनभ्याइ छ,’ भंगाहा नगरपालिका–४ रामनगरका ४० वर्षीय किसान चन्देश्वर राय दनुवारले भने, ‘अहिले बजार पुर्याउन नसके अलुवा (सुठुनी, सखरखण्ड)को भाउ संक्रान्तिपछि खस्किन्छ ।’ मिथिलामा यस पर्वमा अलुवा, तरुल र पिँडालुजस्ता कन्दमूल उसिनेर खाने/ख्वाउने परम्पराले संक्रान्ति अघि यी उत्पादनले राम्रो बजार पाउने गरेका छन् ।
मात्र एक कट्ठा क्षेत्रफलमा लगाइएको अलुवाबाट संक्रान्तिअघि बजार पुर्याउन सके १० हजार हाराहारी आम्दानी गर्न सकिने दनुवारको भनाइ छ । पुस मसान्तभित्रै पर्व विशेषका उत्पादन बजार पुर्याउन नसके सोचेको आम्दानी पाउन नसकिने यहाँका किसान बताउँछन् । पर्वमा सख्खर, तिल, चिउरा, मास, जुनेलो (अन्न विशेष) र तरुवा खाइने तरकारी विशेषको खुबै माग हुन्छ । पर्वमा सक्खरको खुँदोमा मिसाएर बनाइने तिल, चिउरा, मुरी र जुनेलोको लड्डु खाने/ख्वाइने गरिन्छ ।
त्यसैगरी कोभी, भाण्टा, हरियो केरा, आलु, परवल र लौकीको तरुवा खाने प्रचलनले यी वस्तुको भाउ अहिले ह्वात्तै बढेको छ । पर्वका लागि आफ्नै घरको तयारी र पर्वअघि नै यी फसल बजार पुर्याउनै पर्ने चटारोले अहिले सास फेर्ने फुर्सत पनि नभएको बलवा नगरपालिका–१० धमौराका किसान वासुदेव पासवान बताउँछन् । पछिल्ला केही दिनयता फेरि कोरोना संक्रमणको सन्त्रास बढ्दै गएपछि अब बजार जाने कुरामा पनि चिन्ता थपिएको छ । रासस