पुस २८, रौतहट । फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा रौतहटमा थप ४३ हजार ५८० जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा मतदाताको संख्या थपिएको हो ।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय गौर, ईलाका प्रशासन कार्यालय गरुडा तथा चन्द्रनिगाहपुरमा फोटो सहितको मतदाता नामावली संकलन कार्य भइरहेको छ ।
पछिल्लो समय नामावली संकलन गर्ने स्थानमा उल्लेखनिय भिड हुने गरेको ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा खटिएका कर्मचारी रमेश तिमल्सिनाले बताए ।
उनका अनुसार मतदाता नामावली कार्यमा छुटेका, भर्खरै नागरिकता बनाएका तथा विवरण सच्याउने लगायतका कार्य गर्न आउने गरेको बताए । गाँउ गाँउबाट पmोटो सहितको मतदाता नामावलीका लागि सर्वसाधारण आउने गरेकाले कार्यालय परिसरमा घुईचो हुने गरेको उनको भनाइ छ ।
निर्वाचनको मिति घोषणा नहुञ्जेलसम्म ती कार्यालयहरुमा फोटोसहितको मतदाता नामावली संकलनको कार्य जारी रहने जानकारी दिइएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार पुस महीनामा मात्र करीब ४ हजार मतदाता थपिन सक्ने अनुमान गरेको छ । मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्तर्गत १६ हजार ६६९ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए ।
उनका अनुसार ८ हजार ७३२ पुरुष र ७ हजार ९३७ महिला छन् । जिल्ला प्रशासन, निर्वाचन तथा ईलाका प्रशासन कार्यालयमा गरी २६ हजार ८९४ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएको उनको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालयमा ९ हजार ५६४ जना, जिल्ला प्रशासन कार्यालयमा ४ हजार ८३४, इलाका प्रशासन कार्यालय गरुडामा ४ हजार ८७८ र इलाका प्रशासन कार्यालय चपुरमा ७ हजार ६२१ जनाले नाम दर्ता गराएका हुन् । हालसम्म रौतहटमा करीब ४ लाख १६ हजारभन्दा बढी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जानकारी दिएको छ ।