रुकुम । रुकुम पश्चिममा चालू आर्थिक वर्षको पहिलो ६ महीनामा १ हजार ११० ओटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने उक्त संख्याका सवारीसाधनको कारबाहीबाट ११ लाखभन्दा बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले साउनदेखि पुस मसान्तसम्ममा सवारीसाधनको कारबाहीबाट रू. ११ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयका अनुसार कात्तिकमा सबैभन्दा बढी राजस्व संकलन भएको छ । सो महीनामा २७९ सवारीसाधनको कारबाहीबाट २ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय, रुकुम पश्चिमका प्रमुख गंगाराम विकले जानकारी दिए । त्यस्तै मङ्सिरमा २३१ सवारीसाधनलाई कारबाही गर्दा २ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयको तथ्यांक अनुसार पुसमा २ लाख १८ हजार ५ सय राजस्व संकलन भएको छ । सो महीना २२० सवारीसाधन कारबाहीमा परेका थिए । यस्तै असोजमा १४३, भदौमा १२० र साउनमा ११७ ओटा सवारीसाधन कारबाहीमा परेका थिए, जसबाट असोजमा १ लाख ४४ हजार, भदौमा १ लाख २० हजार र साउनमा १ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व असुली भएको छ ।
साउनदेखि पुस मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ११० ओटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुकुम पश्चिमका इन्चार्ज गंगाराम विकले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । यस अवधिमा ६११ ओटा मोटरसाइकल, १३१ ओटा बस, ९१ ओटा ट्रक, १२३ ओटा ट्र्याक्टर, १३९ ओटा जीप/कार र १३ ओटा अटो रिक्साले ट्राफिक नियम उल्लंघन गरेको पाइएको थियो । जिल्लामा ६ महीना अवधिमा १३ ओटा सवारी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।