माघ ५, वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको वीरगञ्जस्थित घरमा ढुंगा हानेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश राजधानी जनकपुर र प्रदेशको नाम मधेस राखेको विरोधमा मुख्यमन्त्री राउतको वीरगञ्ज तेजारथ टोलस्थित घरमा ढुंगा हानेको आरोपमा प्रहरीले वीरगञ्ज - १ का सुमन पटेललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका पटेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । नेपाली कांग्रेस वीरगञ्ज नगर कमिटिले मंगलवार निकालेको विरोध र्यालीका क्रममा मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार भएको थियो ।
ढुंगा प्रहारबाट मुख्यमन्त्रीको घरको झ्यालका २ ओटा सिसा फुटेको प्रहरीले बताएको छ ।