ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अस्पतालजन्य फोहोरलाई आयस्रोत बनाउँदै वीरगञ्ज महानगर

२०७८ माघ, ६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

वीरगञ्ज । शहरका अस्पताल र स्वास्थ्य क्लिनिक तथा जाँच केन्द्रहरूबाट निस्किने फोहोर व्यवस्थापनमा चुनौती सामना गरिरहेको वीरगञ्ज महानगरले अब यसलाई आम्दानीको स्रोत बनाएको छ । महानगरले यस्तो फोहोरको सुरक्षित व्यवस्थापनका लागि अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि यो सम्भव भएको हो । अस्पतालजन्य फोहोरलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न वीरगञ्जको भेडियाहीमा ६ करोड २२ लाखको लागतमा ‘ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’ तयार पारिएको छ ।

एक महीनाअघि मात्रै यो संरचना सञ्चालनमा आएको हो । अब शहरको अस्पतालजन्य फोहोर व्यवस्थापन सहज भएको र पहिला समस्याको रुपमा रहेको यस्तो फोहोर व्यवस्थापन अब महानगरको लागि आम्दानीको स्रोत बनेको नगर प्रमुख विजयकुमार सरावगीले बताए ।

फोहोर व्यवस्थापन केन्द्रबाट महानगरलाई वार्षिक सवा करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान सरावगीले सुनाए । महानगरपालिका क्षेत्रका अस्पताल, क्लिनिक र जाँच केन्द्रबाट फोहोर व्यवस्थापनवापत १ करोड ८७ लाख रुपैयाँ संकलन हुने अनुमान महानगरको छ । त्यसको सञ्चालन र कर्मचारी व्यवस्थापनका लागि ५१ लाख रुपैयाँ खर्च हुने महानगरले बताएको छ ।

महानगरले नगर क्षेत्रका अस्पताल र यस्तो फोहोर उत्पादन गर्ने अन्यलाई व्यवसायको क्षमताका आधारमा शुल्क तोकेको छ । फोहोर व्यवस्थापन गरिदिएबापत महानगरलाई तोकिएको शुल्क बुझाउनु पर्दछ । यो महानगरको आम्दानीको स्रोत हो ।

राष्ट्रिय योजना आयोगको सहयोगमा १२ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्रमा अहिले नगर क्षेत्रबाट दैनिक रूपमा निस्किने ५ मेट्रिकटन फोहोर व्यवस्थापन भइरहेको महानगरका इन्जिनियर प्रकाश अधिकारीले बताए ।

यस्तो फोहोरलाई अटो क्लिप प्रणालीबाट सुरक्षित व्यवस्थापन गरिने पनि अधिकारीले जानकारी दिए । वीरगञ्जमा ३० ओटा अस्पताल, स्वास्थ्य क्लिनिक, जाँच केन्द्रलगायतबाट फोहोर उत्सर्जन हुँदै आएको छ । यसअघि यस्तो फोहोर अन्य घरायसी फोहोरजस्तै विसर्जन हुँदै आएको थियो । यसबाट संक्रमण फैलिने जोखिम उच्च थियो । अस्पतालको फोहोर तथा उपचारको क्रममा काँटेर फालिएका मानव अंगहरूलाई यो संरचनामा सुरक्षित रूपमा नष्ट गर्दा संक्रमण फैलिने जोखिम हटेको दाबी महानगरका प्राविधिकहरूको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)