ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बारा /पर्साका इँटा उद्योगमा कोरोना कहर : मजदूर अभावले उत्पादनको हबमै धमाधम बन्द हुँदै उद्योग 

२०७८ माघ, १०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

माघ १०, वीरगञ्ज  । बारा / पर्सा र आसपासको सीमावर्ती क्षेत्रलाई इँटा उत्पादनको हब मानिन्छ ।

यो क्षेत्रका इँटा  उद्योगले देशका अन्य स्थानका उद्योगको तुलनामा सस्तो दरमा इँटा आपूर्ति गर्दै आएका छन् । तर, कोरोना महामारी शुरु भएयता उत्पादनको मुख्य क्षेत्रका उद्योग संकटमा परेका छन् । 

कोरोना महामारीका कारण मजदूर अभाव भएपछि बारा र पर्साका ५० भन्दा बढी इँटा उद्योग बन्द भइसकेका छन् । भारतसँग सीमा जोडिएका जिल्लामा सञ्चालित उद्योगमा अधिकांश भारतीय मजदूर काम गर्दै आएकामा अहिले कामदार अभाव भएको उद्योग सञ्चालकहरू बताउँछन् । 

इँटा  व्यवयासी संघ बारा र पर्साका अनुसार कोरोना महामारी शुरु भएपछि आआफ्नो घर गएका मजदूर फर्किएका छैनन् । बारम्बारको कोरोना लहरले मजदूर नपाएपछि ती उद्योग सञ्चालनमा आउन नसकेका हुन् । पहिलो लहरमा सामान्य असर देखिएकोमा दोस्रो र तेस्रो लहरसम्म आइपुग्दा उद्योग बन्द हुनेक्रम बढ्दै गएको हो ।

अधिकांश यस्ता उद्योगमा भारतीय कामदार कार्यरत रहेको र कोरोनाका कारण मजदूर आपूर्ति हुन नसकेपछि उत्पादन नै बन्द गर्नु परेको संघका अध्यक्ष रामप्रकाश यादव बताउँछन् । बारा र पर्सामा करीब २०० को हाराहारीमा यस्ता उद्योग रहेकोमा अहिले १५० जति सञ्चालनमा रहेको अनुमान यादवको छ ।

इँटा  उद्योग सञ्चालन हुन  नसक्दा यी उद्योगमा भएको करीब २ अर्ब रुपैयाँबराबरको लगानी जोखिममा परेको सञ्चालकहरूले बताएका छन् । एउटा उद्योगमा ३ देखि ५ करोड रुपैयाँसम्म लगानी हुने अनुमान उनीहरूको छ । 

सञ्चालनमा रहेका उद्योग पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । यस्ता उद्योगमा अधिकांश भारतीय कामदार छन् । ‘कोरोना शुरू भएपछि भारत गएका मजदूर नफर्किएपछि उद्योग सञ्चालनमा समस्या भयो । पटक- पटकको कोरोना लहरले उद्योगमा मजदूर अभाव भएको छ,’ एक उद्योगीले भने । 

सामान्यतः एउटा उद्योगले वर्षमा ६ पटकसम्म इँटा  उत्पादन गर्दछन् । एक पटकमा ५ लाखदेखि ७ लाखसम्म इँटा  उत्पादन हुने उद्योगी बताउँछन् । एउटा उद्योगमा १५० देखि २०० जनासम्म कामदारको खाँचो पर्दछ । सञ्चालनमा रहेका उद्योगले पनि न्यून जनशक्तिमा काम चलाइरहेको बताएका छन् । 

केही दिनदेखि पूर्वी नेपालका कामदार आएको र त्यसैको बलमा १५० ओटाजति उद्योग सञ्चालनमा आएको यादवले बताए । कामदार अभाव भएपछि इँटाको लागत बढेको गुनासो उद्यमीहरूले गरेका छन्  । 

मजदूर अभावसँगै यस्ता उद्योगले प्रयोग गर्ने कोइलाको मूल्य पनि बढेको उनीहरूले बताएका छन् । अघिल्लो वर्षसम्म २३ हजार मेट्रिकटनका दरले पाइने कोइलाको मूल्य अहिले ३८/ ३९ हजार रुपैयाँसम्म पुगेको उद्योगीले बताएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)