ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीतपुरसिमरा उपमहानगरले १० गुणा बढायो सम्पत्ति कर, आलोचनाबाट जोगिने उपाय खोज्दै जनप्रतिनिधि

२०७८ माघ, १७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

माघ १७, वीरगञ्ज  । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले बढाएको सम्पत्ति कर विवादित बनेको छ ।

सरोकारका करदातादेखि जनप्रतिनिधिसमेत यसको प्रतिवादमा उत्रिएका हुन् । उपमहानगरले चालू आर्थिक वर्ष २०७८/ ७९ को नीति तथा कार्यक्रममार्फत सम्पत्ति करको दर १० गुणासम्म बढाएको थियो । उपमहानगरले अव्यवहारिक रुपमा कर बढाएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । चर्को विरोध हुन थालेपछि उपमहानगरका जनप्रतिनिधि आलोचनाबाट जोगिने उपायको खोजीमा लागेका छन् । 

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले पत्र लेखेर उपमहानगरको ध्यानाकर्षण गराएपछि सम्पत्ति कर विवादित बनेको हो । वृद्धि गरिएको सम्पत्ति करबाट उपमहानगरपालिकाभित्र पर्ने औद्योगिक प्रतिष्ठानहरू बढी प्रभावित हुने देखिएको छ । उपमहानगरपालिका स्रोतका अनुसार बढी जग्गा र भौतिक संरचना ओगटेर बसेका उद्योगबाट बढी कर असुल हुने गरी करका दर निर्धारण गरिएको छ ।

आम जनतालाई भने खासै वृद्धि भएको छैन । यसबाट उद्योगहरूले विगतको तुलनामा बढी कर तिुर्नपर्ने भएको छ । बारा - पर्सा औद्योगिक कोरिडोरका अधिकांश ठूला उद्योग उपमहानगरकै क्षेत्राधिकारमा पर्दछन् । उपमहानगरले आर्थिक ऐन २०७८ अनुसार कर तिर्न उद्योग प्रतिष्ठानलाई पत्र पठाएपछि १० गुणासम्म कर बढेको तथ्य बाहिर आएको थियो ।

कर बढेपछि उद्योगी व्यवसायीले वृद्धि गरिएको कर फिर्ता लिन र व्यवहारिक दर कायम गर्न आग्रह गरेका छन् ।  कोरोना महामारीका कारण उद्योग व्यापार र आम दैनिकी नराम्ररी प्रभावित भएको अवस्थामा उपमहानगरले एकतर्फी रुपमा कर बढाउनु न्यायोचित नभएको संघका अध्यक्ष सञ्जयकुमार साहले बताए । 

स्थानीय तहमा कर निर्धारण गर्नुअघि राजस्व परामर्श समितिमा छलफल गर्नुपर्नेमा उपमहानगसरले मनोमानी तरिकाले कर बढाएको संघको आरोप छ । निजीक्षेत्रको प्रतिनिधित्व रहेको राजस्व परामर्श समितिमा छलफल भएरै सम्पत्ति कर बढाइएको दाबी उपमहानगरका अधिकारीहरूको छ ।

कर वृद्धि भएपछि अहिले जनप्रतिनिधि आलोचित भएका छन् । स्थानीय तहको निर्वाचनको समयसमेत नजिकिएले जनप्रतिनिधिहरु यो आलोचनाबाट बच्ने उपाय खोजिरहेका छन् । 
मतादाताबीच अलोकप्रिय भइने डरले केही जनप्रनिधिहरू कर वृद्धिबारे आफूहरूलाई जानकारी नै नभएको बताउन थालेका छन् । उपमहानगरका प्रमुख डा कृष्ण पौडेल त्रुटिका कारण कर बढेको बताउँछन् ।

‘प्रतिशतको हिसाब निकाल्दन गल्ती भएकाले’ करको दर ह्वात्तै बढेको पौडेलको भनाइ छ । ‘हिसाबमा गल्तीका कारण यस्तो हुन गयो । त्यसलाई हामी सच्याउँछौं’, नगर प्रमुख पौडेलले आर्थिक अभियानसित भने । यसैबीच उपमहानगरका ७ जना वडाध्यक्षले कर वृद्धिमा आफूहरूको सहमति नभएको बताएका छन् । 

उनीहरुले शुरुदेखि नै कर वृद्धिमा आफूहरूको विरोध रहेकोमा सुनुवाई नगरी पारित भएको आरोप लगाउँदै वृद्धि गरिएको करका दर तत्काल सच्याउन माग गरेका छन् । उपमहानगरका प्रमुख कार्यकारी अधिकृत चेतकुमार पोखरेल भने वर्षौदेखि करका दरमा पुनरावलोकन नभएको र अहिले बढाउँदा धेरै देखिएको तर्क गर्दछन् । 

अन्य उपमहानगरको तुलनामा करका दर बढी नभएको दाबी पनि पोखरेलको छ । नगर परिषद्बाट पारित भएरै करको दर लागू भएको उनले स्पष्ट पारे । ‘सम्पत्ति करको दर पुनरावलोकन गर्नुपर्ने भएमा प्रक्रियाअनुसार जानु पर्दछ’, उनको भनाइ छ, ‘यसका लागि विशेष नगर परिषद् वा नियमित परिषदबाटै निर्णय हुनु पर्दछ ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)