माघ २१, सुर्खेत । पश्चिम सुर्खेतले विकासमा फड्को मार्ने तयारी गरेको छ । सुदूरपञ्चिम प्रदेशको कैलाली र अछामसँग जीवन्त सम्बन्ध राखेको पश्चिम सुर्खेतलाई समृद्ध बनाउन नदी माथिका पुल जोड्ने कामले गति लिएसँगै विकासमा फड्को मार्ने निश्चित भएको हो ।
पश्चिम सुर्खेतको समृद्धिसँगै जोडिएको कर्णाली नदी माथिका घाटगाउँ–चिप्ले पुल, वरी कुइने र पारी कुइने जोड्ने पुल निर्माण कार्य धमाधम भइरहेको छ । ती पुलहरु चालू आर्थिक वर्षको अन्त्यसम्म सञ्चालनमा ल्याउने तयारी भएको निर्माण पक्षको भनाइ छ ।
यस्तै तातापानी–घाटगाउँ जोड्ने भेरी नदी माथिको कोसेनीघाट पुल निर्माण समेत अन्तिम चरणमा रहेको छ । कुइने–विजौरा–गुटु–बेनीघाट हुँदै डोटी जोड्ने उद्देश्यले निर्माण शुरु गरिएको उक्त पुल विधिवत सञ्चालनको तयारीमा रहेको निर्माण पक्ष बताएको छ ।
कोरोना कहरले निर्माण सामाग्री अभावमा रोकिएको पुलको काम अहिले स्थिती सामान्य बन्दै गएपछि निर्माण कार्यले तीव्रता पाएको हो । हालसम्म करीब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पुल निर्माणको ठेक्का पाएको अनक–लुम्बिनी जेभीका प्रतिनिधि ईन्जिनियर दिनेशकुमार श्रेष्ठले बताए । उनले कुनै भवितव्य नआए अबको तीन महीनाभित्र पुल निर्माण कार्य सम्पन्न हुने बताए ।
‘तोकिएको समय भन्दा ६ महीना पहिले नै पुल निर्माण सकेर सरकारलाई जिम्मा दिने लक्ष्य थियो,’ उनले भने, ‘तर बीचमै एक्कासी कोरोना कहरले निर्माण सामग्री र मजदूर अभावलगायतका कारणले काममा ढिलाई भएपनि अब अहिले स्थिती सामान्य बन्दै गएपछि पुल निर्माणले गति पाएको हो ।’ उनले पुल निर्माण अवधि २०७८ जेठ मसान्तसम्म रहेपनि कोराना महामारी लगायतले ढिलाई भएकाले केही समय पर सरेको बताए ।
उनका अनुसार पुल निर्माणका लागि अनक–लुम्बिनी जेभीले ४ वर्षभित्र पुल निर्माण गरिसक्ने गरि २०७४ मंसिरमा सडक विभाग, पुल महाशाखासँग भ्याट बाहेक ३४ करोड ४३ लाख रुपैयाँमा सम्झौता गरेको थियो । पुलको लम्बाई ३०३ मिटर र चौडाई ११ मिटर रहेको छ । रेलिङ, फुटफाथ र दुईतिर सडक पेटी बनाईएका छन् ।
‘यो पुल निर्माणको कामलाई अहिले निकै महत्वका साथ हेरिएको छ । पुल निर्माणसँगै पश्चिम सुर्खेतका गाउँहरुसँगको ‘कनेक्टविटी’ बढ्ने छ,’ स्थानीय समाजसेवी काशीराम (जैसी) देवकोटाले भने, ‘पुल निर्माणले घाटगाउँ र कुईने बीच जीवन्त सम्पर्क मात्र होइन, वर्षाको भेलमा नदी तरेर वारपार गर्नुपर्ने बाध्यता समेत अन्त्य हुने छ ।’ उनले पुल निर्माणबाट पञ्चपुरी नगरपालिका–११, को कौसेनी घाट र चौकुने गाउँपालिका–९, बेलगौडाको आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
‘देशमा थुप्रै राजनीतिक परिवर्तन भइसक्यो । अब आर्थिक परिवर्तनको खाँचो छ, जसलाई पश्चिम सुर्खेतका जनताले पर्खेर बसेका छन्,’ उनले भने, ‘राजनीतिक अधिकार, पहिचान र लडाई निरन्तर चल्ने प्रक्रिया हो । त्यो सँगसँगै आर्थिक समृद्धि र विकास महत्वपूर्ण पाटा हुन् ।’ उनले पश्चिम सुर्खेतको समृद्धि र विकासका लागि जनअपेक्षा अनुरुप आफूले निरन्तर लडाई जारी राखेको जिकिर गरे ।
पञ्चपुरी नगरपालिका–१०, का टेकबहादुर राजीले पुल निर्माणबाट भेरी र कर्णाली नदी किनारका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने बताए । उनका अनुसार यो पुल निर्माणसँगै साविक तातापानी, घाटगाउँ, गुटु र विजौरा गाविसका बासिन्दालाई बैकल्पिक सडक मार्गका रुपमा विकास गरिनेछ । त्यस्तै कुइनेका स्थानीय प्रेम बडुवालले जामु र बेलगौडामा पक्की मोटेरेवल पुल बनेसँगै अब प्रस्तावित औद्योगिक नगरी गुटुसँगको आर्थिक तथा सामाजिक सम्बन्धलाई प्रगाढ बढाउन रागमा पक्की पुल बनाउन आवश्यक रहेको औल्याए । उनले चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाकका लागि राग र जंगलाघाटमा पक्की पुल निर्माण अपरिहार्य रहेको बताए ।
उनका अनुसार चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक निर्माणले पहाडी जिल्लाका बासिन्दालाई निकै राहत पुग्नेछ । ‘पश्चिम सुर्खेतका बासिन्दा किनमेल गर्न कैलालीको चिसापानी लगायतका बजार पुग्नुपर्ने बाध्यता छ । उनीहरुलाई सदरमुकाम वीरेन्द्रनगरभन्दा कैलालीको चिसापानी भौगोलिक रुपमा नजिक पर्छ,’ तातापानीका स्थानीय धनबहादुर माझीले भने, ‘भेरी नदीमा पुल नभएकाले उनीहरुलाई ओहरदोहरमा निकै समस्या हुने गरेको छ ।
पुल बनेपछि उनीहरु सहजै कैलालीको चिसापानी लगायतका ठाउँमा पुग्न सक्ने छन् ।’ उनका अनुसार अहिले गुटुका बासिन्दा रागमा पुल नहुँदा घुमाउँरो जामुको पुल हुँदै ओहोरो–दोहोरो गरिरहेका छन् । यद्यपि कुइनेदेखि गुटुसम्मको कच्ची सडकमा साना सवारी साधन अहिले जेनतेन चल्ने गरेका छन् ।