सर्लाही । गतवर्षको तुलनामा यस वर्ष सर्लाहीमा आलु उत्पादनमा कमी आएको छ । जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा ठूलो कमी आएको बताइएको छ ।
बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपालले भने, ‘विगतका वर्ष पनि आलु उत्पादन कमै भएको थियो । समयमा मल नपाउँदा यस वर्ष पनि झन् कमी आयो । उत्पादित आलुले बजार समेत पाएको छैन ।’ प्रतिकिलो २५ देखि ३० मा बीउ किनेर रोपेको आलु अहिले १५ मा विक्री गर्नुपरेको उनले गुनासो गरे ।
भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको यहाँका किसानको गुनासो छ । किसानले आलु व्यापारीलाई प्रतिकिलो १६ मा खेतबाटै विक्री गरिरहेका छन् । बागमती नगरपालिका–६ राजघाटका किसान पनिलाल रामले भने, ‘आलु लगाउने समयमा युरिया मलको अभाव भयो ।’ जिल्लाका बरशथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शंकरपुरलगायत क्षेत्रमा व्यावसायिक आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलुखेती गरिन्छ ।
जिल्लाभर एक हजार ४०० हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । जिल्लामा उत्पादन भएको आलु मलंगवा, चपुर, वीरगञ्ज र कलैयामा रहेको शीतभण्डारमा भण्डारणका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानको गुनासो छ । रासस