रौतहट । चाँदी नदीमा पुल निर्माणमा ढिलाइ हुँदा चन्द्रपुर नगरपालिका–३ गैंडाटारका बासिन्दा निराश भएका छन् । दुई वर्षअघि नै निर्माण गरिसक्नुपर्ने भए पनि अझै अधुरै रहेको र निर्माण कम्पनीले पटक पटक म्याद थप मात्र गरिरहेको स्थानीयको आरोप छ ।
चन्द्रनिगाहपुर–गैंडाटार जोड्ने पुल निर्माणको जिम्मा पप्पु शिवशंकर जेभीले पाएको छ । साढे ७ मिटर चौडाइ रहेको उक्त पुलको लम्बाइ ४६९ मिटर छ । ११ ओटा स्पाम रहेको पुल २०७६ असारमा सम्पन्न गर्ने सम्झौता थियो । तर पहिलो चरणमा डेढ वर्ष तथा पछिल्लो समयमा ६ महिनाका लागि म्याद थप भएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण समयमै पुल निर्माण सम्पन्न हुन नसकेको र यस विषयमा जनप्रतिनिधि तथा सरोकारवाला निकायको पनि ध्यानाकर्षण गराइएको पुल निर्माण संघर्ष समितिका संयोजक लालबहादुर दोङले बताए । तर निर्माण कम्पनीले प्रतिबद्घता अनुसार काम नगरेको र अझै चारओटा स्पाम ढलान नभएको उनले बताए ।
निर्माण कम्पनी तथा सडक कार्यालयलाई पटक पटक ताकेता गरेपछि काम शुरू गरे पनि सुस्त गतिमा भइरहेको चन्द्रपुर नगरपालिका–३ का वडाध्यक्ष बोधनाथ देवकोटाले बताए । पप्पु शिवशंकर जेभीले २२ करोड ४४ लाख रुपैयाँमा पुल निर्माणको जिम्मा पाएर २०७३ पुसदेखि काम थालनी गरेको निर्माण कम्पनीका ठेकेदार दयारामप्रसाद साहले बताए । उनका अनुसार कोभिड, निर्माण सामग्रीको अभाव, बजेट जस्ता विविध कारणले निर्माणमा ढिलाइ भएको हो । पुलको काम हालसम्म करीब ६० प्रतिशत मात्र सम्पन्न भएको छ । थपिएको समयमा काम नसके निर्माण कम्पनीविरुद्ध कानूनी प्रक्रिया अघि बढाउने डिभिजन सडक कार्यालय चन्द्रपुरले बताएको छ ।