ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फोहोर व्यवस्थापन केन्द्रले फेरिँदै वीरगञ्जको मुहार

२०७८ माघ, २७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । एशियाली विकास बैंकको सहकार्यमा वीरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्याएको फोहोर व्यवस्थापन केन्द्र शहरको मुहार फेर्न सहयोगी बनेको छ । यसअघि नेपालकै प्रवेशद्वार मानिएको शंकराचार्यद्वारको छेवैमा थुपारिएको फोहोरको डंगुरले वीरगञ्जको सुन्दरता नै बिगारिरहेको थियो ।

नेपाल–भारत सीमानामा रहेको शंकराचार्यद्वार भएर आउजाउ गर्ने जो कोहीमा यो फोहोरको थुप्रोले नकारात्मक सन्देश दिइरहेको थियो । यो वीरगञ्जलाई फोहोर र फोहोरमा फैलिने लामखुट्टेको अस्तव्यस्त शहरको रूपमा पनि चिनाउन पर्याप्त थियो । फोहोर व्यवस्थापन केन्द्र सञ्चालन भएपछि वीरगञ्जको सरसफाइ प्रभावकारी भएको छ । शंकराचार्यद्वार र नगरका अन्य खुला ठाउँमा थुपार्ने गरिएको फोहोर अब वीरगञ्जको नगवामा १६ बिघा १० कट्ठा क्षेत्रफलमा निर्माण भएको फोहोर व्यवस्थापन केन्द्रमा व्यवस्थापन भइरहेको महानगरका प्रमुख विजयकुमार सरावगीले बताए ।  वीरगञ्जको सरसफाइ प्रभावकारी बनाएर शहरको सुन्दरता बढाउन यो पूर्वाधार कोसेढुंगा नै सावित भएको प्रमुख सरावगीको भनाइ छ । नगर क्षेत्रको सरसफाइमा निजीक्षेत्रलाई सहभागी बनाएर महानगरको स्रोतको प्रभावकारी परिचालनको नीति पनि महानगरले लिएको छ ।

वीरगञ्जको सरसफाइ विगतको तुलनामा सुधारोन्मुख देखिएको युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल बताउँछन् । ‘महानगरले फोहोर संकलन र विसर्जनलाई प्रभावकारी बनाएको अनुभूति भएको छ । विगतको तुलनामा वीरगञ्जमा लामखुट्टेको समस्या पनि कम भएको छ,’ वीरगञ्ज १० का बासिन्दा अग्रवालले भने ।

महानगरले लामखुट्टै फैलिने समयमा औषधि छर्किएर लामखुट्टे मार्ने अभियान नै चलाउने गरेको सरावगीले जानकारी दिए । महानगरले एडीबीको सहयकार्यमा ४७ करोड ८० लाख रुपैयाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको हो । नगरक्षेत्रबाट दैनिक ८० मेट्रिकटन फोहोर संकलन हुने महानगरले बताएको छ । नगरका विभिन्न क्षेत्रबाट उठाइएको फोहोर व्यवस्थापन केन्द्रमा पुर्‍याइने गरेको छ । यो पूर्वाधारमा नगर क्षेत्रबाट निस्किने फोहोरलाई २५ वर्षसम्म व्यवस्थापन गर्न सकिने महानगरले बताएको छ ।

फोहोरबाट मोहोर
फोहोर व्यवस्थापन केन्द्रबाट महानगरले वर्षमा करीब २० करोड रुपैयाँ आय आर्जनको योजना राखेको छ । कुहिने फोहोरबाट मल बनाउने र पुनः प्रयोग हुने फोहोर विक्री गर्ने योजना महानगरको छ । नकुहिने फोहोर विक्रीबाट मात्रै वार्षिक करीब १२ करोड र मलबाट ६ करोड रुपैयाँ आम्दानी हुने अनुमान महानगरको छ ।

कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरले ३९ हजारभन्दा बढी डस्टबिन बाँडेको छ । तर, स्थानीयले कुहिने र नकुहिने फोहोर नछुट्याइदिँदा समस्या भइरहेको पनि महानगरको सरसफाइ शाखाले बताएको छ ।

बायो ग्यास प्लान्ट निर्माण गरेर कुहिने फोहोरबाट मल बनाउने योजना राखिएको छ । यसबाट पर्यावरण जोगिनुका साथै महानगरको आय स्रोतसमेत बढ्ने महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटा बताउँछन् । प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि महानगरले इन्सिनेरेटर प्लान्ट ल्याउने योजना बनाएको छ । प्लान्टमा प्रतिघण्टा ३ टन प्लास्टिकजन्य फोहोर जलाउन सकिने र त्यसबाट विद्युत् उत्पादन गर्न सकिने नगर प्रमुख सरावगीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)