वीरगञ्ज (अस) । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को सात महीनामा साढे ४ खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि माघसम्ममा वीरगञ्ज भन्सारबाट कुल ४ खर्ब ६२ अर्ब ५३ करोड रुपैयाँबराबरको वस्तु आयातनिर्यात भएको हो ।
यस अवधिमा भन्सारले १ खर्ब २१ अर्ब ७२ करोड रुपैयाँ राजस्व उठाएको भन्सार प्रमुख हरिहर पौडेलले बताए । यो राजस्व तोकिएको लक्ष्यभन्दा ४ प्रतिशत बढी भएको पनि उनले बताए । चालू आवमा बितेको ७ महीनाका लागि यो भन्सारलाई १ खर्ब १६ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएको थियो ।
वीरगञ्ज भन्सारमार्फत भएको कुल व्यापारमा आयाततर्फ ४ खर्ब २ अर्ब ४८ करोड छ । ६० अर्ब रुपैयाँबराबरको निर्यात व्यापार देखिन्छ ।
भन्सारको सूचना तथा प्रविधि शाखाका अनुसार यो नाकाबाट भएको वैदेशिक व्यापारबाट मात्रै ३ खर्ब ४२ अर्ब रुपैयाँबराबरको व्यापारघाटा छ । वीरगञ्ज नाकाबाट मुख्य रुपमा पेट्रोलिय पदार्थ, सवारीसाधन तथा पार्टपुर्जा र औद्योगिक कच्चा पदार्थको आयात बढी हुन्छ । निर्याततर्फ प्रशोधित खानेतेल, जुस, कपडा, जुत्तालगायतका वस्तु जाने गरेको भन्सारको तथ्यांकले देखाउँछ ।
कुन शीर्षकमा कति राजस्व ?
चालू आवको ७ महीनामा वीरगञ्ज भन्सारले आयाततर्फ भन्सार महशुल ४४ अर्ब ३९ करोड, मूल्यअभिवृद्धि कर ४७ अर्ब ५३ करोड र अन्त:शुल्क १३ अर्ब ६७ करोड रुपैयाँ उठाएको छ । वस्तु निर्यातबाट ८ करोड रुपैयाँ संकलन गरेको छ । पूर्वाधार कर शीर्षकमा सवा ९ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएको छ । २ अर्ब ३१ करोड रुपैयाँ सडक मर्मत तथा सुधार र ३ अर्ब ४० करोड रुपैयाँ सडक निर्माण तथा सम्भार शीर्षकमा उठेको वीरगञ्ज भन्सारले बताएको छ ।