सर्लाही । प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । कोरोना भाइरसको संक्रमणका समयमा सो प्लान्ट मधेश प्रदेश सरकारको सहयोगमा स्थापना गरिए पनि लामो समयदेखि सञ्चालनमा आएको थिएन ।
प्लान्टका लागि आवश्यक भौतिक संरचना निर्माण, पाइपलाइन जडान र विद्युत्लगायतको व्यवस्थापनका कारण अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाइ भएको प्रदेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए ।
प्रदेश सरकारले ५० लाखमा खरीद गरेर दिएको अक्सिजन प्लान्ट दैनिक २० सिलिण्डर बराबर अक्सिजन उत्पादन गरी वितरण गर्न सकिने जानकारी उनले दिए । सिलिन्डरमा भर्न थप अक्सिजन ट्यांक राख्नुपर्ने प्रमुख झाले बताए । मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री नवलकिशोर साहले शुक्रवार सो प्लान्टको उद्घाटन गरेका हुन् । रासस