वीरगञ्ज । प्रमुख व्यापारिक नाका वीरगञ्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातमा सुधार हुँदा यसको सकारात्मक प्रभाव राजस्व संकलनमा पनि देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिएकाले राजस्व संकलन बढेको हो । उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महीनासम्ममा संकलित राजस्वको तुलनामा चालू आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षको ७ महीनामा ८८ अर्ब ५० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएकोमा चालू आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्न वीरगञ्ज भन्सार सफल भएको छ । यो गत आवको संकलित राजस्वको भन्दा ३३ अर्ब २२ करोड ३६ लाख रुपैयाँ बढी हो ।
चालू आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले १ खर्ब १६ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन हुने प्रक्षेपण गरेकामा कार्यालयले लक्ष्यभन्दा ४ दशमलव ३ प्रतिशत बढी अर्थात् ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बढी संकलन गर्न सफल भएको कार्यालयका सूचना अथिकारी सुमित गुप्ताले जानकारी दिए । रासस