चैत २, पर्सा । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासजस्ता जैविक इन्धनको प्रयोगलाई कम गर्दै आफ्नै देशमा उत्पादन भएको जलविद्युतको प्रयोगलाई बढाउन सबैमा आग्रह गरेकि छन् ।
मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी शहीद प्रतिष्ठानले बुधवार वीरगञ्जमा आयोजना गरेको शहीद परिवारको सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा मन्त्री भुसालले जैविक इन्धनको प्रयोगले पर्यावरणलाई ठूलो नोक्सानी भएको उल्लेख गरिन् । नेपालको ठूलो धनराशि इन्धनको आयातमा खर्च हुने गरेकाले आफ्नै देशमा उत्पादन भएको बिजुलीको उपयोग गर्न उनले आग्रह गरिन् ।
‘भान्सा होस वा बाहन होस, सिंंचाइका लागि होस वा उद्योगका लागि । इन्धनको सट्टा बिजुलीको उपयोग बढाउनु पर्छ’, उनले भनिन्। शहीद परिवारलाई ३ लाख रुपैयाँ सहयोग गर्ने मधेश प्रदेश सरकारको निर्णय प्रशंसायोग्य रहेको मन्त्री भुसालको भनाइ थियो । रासस