चैत ५, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालमा शल्य चिकित्सा कक्ष र सघन चिकित्सा कक्ष निर्माण गरिएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघको करीब ३५ लाख रुपैयाँको सहयोगमा ती कक्ष निर्माण गरिएको हो । निजी क्षेत्रको पनि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अस्पतालमा शल्य चिकित्सा कक्ष र सघन चिकित्सा कक्ष निर्माण गरी सहयोग गरिएको संघका अध्यक्ष सुबोध गुप्ताले जानकारी दिए ।
हाल सञ्चालन ल्याइएका ती कक्षबाट बिरामीको उपचारमा थप सघाउ पुग्ने नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले जानकारी दिए । उक्त अस्पतालले यस अगावै फार्मेसी, गर्भवती जाँच, भिडियो एक्स–रे, डिजिटल एक्स–रे, ओपिडी सेवा, नेबुलाइजर र २४ सै घण्टा आकस्मिक सेवा, एम्बुलेन्सलगायत सेवा प्रवाह गर्दै आएको थियो ।
अस्पतालमा दैनिक करीब १०० जना बिरामी उपचारका लागि आउने गर्छन् । रासस