चैत ८, वीरगञ्ज । व्यापारिक कारोबारका क्रममा भएका त्रुटिमा व्यावसायीलाई अन्य अपराधसरह थुनछेक नगर्न निजीक्षेत्रले माग गरेको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीले राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलसँगको भेटमा यस्तो माग गरेको हो । संघका अध्यक्ष सुवोधकुमार गुप्ताले ३५ करोड रुपैयाँभन्दा माथिको कारोबार गर्ने व्यवसायको इन्टिग्रेशन सफ्टवेयरमा इन्ट्री गरेपछि भन्सार कार्यालय, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभाग तीन ओटै निकायमा सूचना प्रवाह हुने गरी सफ्टवेयर इन्ट्रिग्रेशन गर्नुपर्ने पनि बताए ।
संघीय राजधानी काठमाडौं उपत्यकामा मालवाहक सवारीसाधनलाई राजस्व अनुसन्धान विभागले मात्रै चेकजाँच गर्ने गरेकोमा उपत्यकाबाहिरका मुख्य व्यापारिक शहरमा पनि सो प्रावधान लागू गरिनुपर्ने बताए ।
प्रहरी प्रशासनले चेकजाँचको नाममा व्यवसायीलाई अनावश्यक दुःख दिएको आरोप गुप्ताले लगाए ।
भीसीटीएस भर्दा वा सोसँग सम्बन्धित त्रुटिमा जरीवाना न्यून हुनुपर्ने, यसबारेमा निजीक्षेत्र अझै पनि पर्याप्त जानकार नरहेकाले जानकारीमूलक कार्यक्रम आयोजना गरिनुपर्ने, सानोतिनो व्यवसायमा भीसीटीएसको बाध्यात्मक व्यवस्थालाई हटाउनुपर्ने, सरकारी कार्यालयबीच आपसी समन्वय र सहकार्यको अभावमा व्यवसायीहरूले विभिन्न झन्झट व्यहोर्नुपरेकोले अन्तरसरकारी निकायबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
महानिर्देशक पौडेलले निजीक्षेत्रको सुझावलाई आफूले सकारात्मक रुपमा लिएको बताए । राजस्व अनुसन्धानसम्बन्धी नीतिगत एवम् व्यवहारिक समस्यालाई समयसापेक्ष समाधान गर्दै जाने आश्वासन पनि उनले दिए ।
उनले उद्योगी व्यवसायीलाई भीसीटीएसबारे जानकारी दिलाउन तालिम सञ्चालन गर्ने पनि बताए ।