चैत ९, सुर्खेत । रुख कटानमा भएको ढिलाइले सुर्खेत खण्डमा मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित भएको छ । रुख कटानसम्बन्धी प्रक्रियागत ढिलाइले हाल वन क्षेत्र नभएका स्थानमा मात्र सडक स्तरोन्नतिको काम भइरहेको छ ।
राजमार्गको पूर्वी खण्डमा ३५ दशमलव शून्य ५ किलोमिटर र पश्चिम सुर्खेतमा ९४ किलोमिटर क्षेत्र पर्छ । सडक क्षेत्रमा साना ठूला गरी करीब पाँच हजार रुख कटान गर्नुपर्ने आयोजनाका सुर्खेत कार्यालय प्रमुख मुकुन्दप्रसाद लामिछानेले जानकारी दिए ।
कटान गर्नुपर्ने रुखको पहिचान, सामुदायिक वन उपभोक्ता समिति, सबडिभिजन र डिभिजन वन कार्यालयले आवश्यक प्रक्रिया शुरु गरिसकेका छन् ।
रुख कटानसम्बन्धी वन कार्यालयबाट तयार भएको फाइल वन विभाग, मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकले अनुमति दिएपछि मात्र कटानको बाटो खुल्नेछ ।
विद्युत्का पोल, ट्रान्सफर्मरलगायत संरचनालाई सार्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले अनुमति दिइसकेको उनले बताए ।
पूर्वी सुर्खेतको धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ । उक्त सडकले वीरेन्द्रनगर, लेकबेँसी र गुर्भाकोट नगरपालिकाका भू–भागलाई समेटछ ।
राष्ट्रिय राजमार्गको मापदण्डअनुसार यो सडकलाई नौ मिटर फराकिलो बनाइँदैछ । सडक स्तरोन्नतिका लागि रू. एक अर्ब ९४ करोड ८४ लाख लागत अनुुमान गरिएको छ ।
ठेक्का सम्झौता भने रू. एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको लामिछानेले बताए । विसं २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ ।
वन क्षेत्र नपर्ने स्थानमा सडकलाई फराकिलो बनाउन साइड कटिङलगायतका काम भइरहेका छन् । ‘नाला निर्माण, भित्ताको माटो काट्ने, साइडलेन, पर्खाल निर्माण तथा ग्राभेल जस्ता काम भइरहेका छन्’, लामिछानेले भने, ‘कतिपय स्थानमा नयाँ सडक निर्माण गर्नुपर्ने नभई पुरानै सडक विस्तार गर्नुपर्ने अवस्था छ ।’
सुर्खेतको पश्चिम खण्डको सडक विस्तारको काम शुरु हुनसकेको छैन । पश्चिम खण्डमा पर्ने १३ किमी सडक प्रदेश सरकारले बनाउने भएको छ । रासस