चैत १०, वीरगञ्ज । चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को पहिलो आठ महीनामा वीरगञ्जबाट अघिल्लो आवको समीक्षा अवधिभन्दा तीन गुणाभन्दा बढी मूल्यको खाने तेल निर्यात भएको छ ।
गत आवको साउनदेखि फागुनसम्ममा १६ अर्ब १८ करोड रुपैयाँबराबरको प्रशोधित तेल भारत निकासी भएकोमा चालू आवको फागुन अन्त्यमा यो मूल्य ५३ अर्ब १० करोड रुपैया पुगेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।
चालू आवको फागुनसम्ममा सबैभन्दा बढी भटमासको प्रशोधित तेल भारत निकासी भएको छ । २७ अर्ब ४६ करोड रुपैयाँ बराबरको १ लाख ९ हजार ७३७ मेटिकटन भटमासको तेल निर्यात भएको भन्सार कार्यालयले बताएको छ ।
२३ अर्ब ३३ करोड रुपैयाँ मूल्य बराबरको ११ करोड ४७ लाख लीटर पाम तेल निकासी भएको वीरगञ्ज भन्सारले बताएको छ । भारतले आयात प्रतिबन्ध लगाएकाले गत वर्ष पाम तेल निकासी भएको थिएन । सूर्यमुखी तेलको निकासी परिमाण पनि यो वर्ष उल्लेख्य बढेको छ ।
गत आवको आठ महीनामा ७३ करोड रुपैयाँको ४ हजार ८८९ मेट्रिक टन सूर्यमुखी तेल निकासी भएको थियो । यो वर्षको २ अर्ब ३० करोड रुपैयाँको ११ हजार ७०० मेट्रिकटन यस्तो तेल भारत निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ ।
वीरगञ्ज नाकाबाट एक दर्जनभन्दा बढी उद्योगले भारततर्फ प्रशोधित तेल निकासी गर्दै आएका छन् ।