वीरगञ्ज (अस) । वीरगञ्ज महानगरपालिकाको चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो सार्वजनिक सुनुवाइ सोमवार सम्पन्न भएको छ । कार्यक्रममा सहभागीले सुशासन प्रवर्द्धनमा सार्वजनिक सुनुवाइको अभ्यास सराहनीय भएको बताए । जनताले चुनेर पठाएका प्रतिनिधि जनताको आलोचनात्मक सुझाव सुन्न तत्पर हुनुले पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने उनीहरूले बताए ।
स्थानीय तहमा जनताका प्रतिनिधि चुनिएर आइसकेपछि पनि जनताले अपेक्षित सुधारको प्रत्याभूति नपाएको गुनासोसमेत उनीहरूले गरे । वीरगञ्ज महानगरमा शिक्षा, स्वास्थ्य, सरसफाइ, पूर्वाधार, सडक, ढल, नालालगायतमा अपेक्षा गरेअनुसारको काम नदेखिएको सहभागीले बताए । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै महानगरका प्रमुख विजयकुमार सरावगीले रचनात्मक आलोचना स्वीकार गरी आगामी दिनमा सुधारको बटोमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख सरावगीले आफू महानगरको नेतृत्व सम्हाल्न आउँदा महानगर ३६ करोड रुपयाँ ऋणमा डुबेको र वार्षिक आय १७ करोड रुपैयाँमात्र रहेकोमा अहिले ऋण चुक्ता गरेर विकासको बाटोमा अग्रसर गराएको बताए ।
वीरगञ्जमा आफूले विकासको बाटो तयार पारेको र अब यसलाई अघि बढाउन सक्षम नेतृत्वको खाँचो रहेको पनि उनले बताए । वीरगञ्जलाई विकासमा अघि बढाउन आफू सक्षम रहेको दाबी गर्ने उनले आफूभन्दा सक्षम व्यक्ति आए उसलाई सघाउने पनि बताए । वीरगञ्जको मेयरमा चुनिएपछि विगत साढे ४ वर्षमा थुप्रै काम भएको उनको भनाइ थियो । फोहोर व्यवस्थापन, स्वास्थ्य सेवा, शिक्षा, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा र सेवाका क्षेत्रमा उल्लेख्य काम भएको उनले बताए । महानगरको सीमित स्रोत र यसैबीचमा कोरोना महामारीका कारण सोचेजति काम गर्न नसकेको पनि उनले स्वीकार गरे ।