ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

औद्योगिक कोरिडोरमै उद्योगलाई जग्गा छैन, नयाँ उद्योग खुल्ने क्रमसँगै जग्गाको भाउ आकाशियो

२०७८ चैत, १५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । उद्योगी विनय शाहले बारा–पर्सा औद्योगिक कोरिडोरमा नयाँ उद्योग खोल्ने योजना बनाए । उद्योगलाई आवश्यक जग्गा किन्न पैसा पनि छुट्ट्याएर राखेका छन् । तर, महीनौं खोज्दा पनि भनेजस्तो जग्गा फेला पार्न सकेनन् । 

‘उद्योग खोल्ने योजना बन्यो । लगानीका लागि पूँजीको व्यवस्था पनि गरेको छु । तर, भनेजस्तो जग्गा नै पाइएन,’ उद्योगी शाहले गुनासो गरे । 

औद्योगिक कोरिडोरमा नयाँ उद्योग खोज्न जग्गा नपाउने शाह एक्ला उद्यमी होइनन् । करीब एक हजार उद्योग सञ्चालनमा रहेको यो कोरिडोरमा नयाँ उद्योगका लागि जग्गा फेला पार्नु निकै कठिन काम बनिसकेको नेपाल उद्योग परिसंघ बारा–पर्साका अध्यक्ष वीरेन्द्रकुमार संघईले बताए ।

समुद्री मार्गसँग सहज पहुँच, देशको मध्यभाग, मुख्य नाका र व्यापार सहजीकरण गर्ने भौतिक पूर्वाधारजस्ता कारणले लगानीकर्ता यो कोरिडोरमा आकर्षित हुन्छन् । बारा–पर्सा सरकारी प्रोत्साहनका कारण नभएर यही सजिलोका कारण औद्योगिक कोरिडोरको रूपमा विस्तार हुँदै गएको हो । उद्योग खुल्ने क्रमसँगै जग्गाको भाउ पनि आकाशिएको छ ।

यतिसम्म कि, उद्योगको कुल लगानीको २५ प्रतिशतभन्दा बढी रकम जग्गामै जाने अवस्था बनिसकेको छ । ‘औद्योगिक सम्भाव्यतामा सबैभन्दा अगाडि मानिएको बारा–पर्सा कोरिडोरमा अब नयाँ उद्योग स्थापना चुनौतीपूर्ण बनेको छ,’ वीरगञ्ज उद्योग वाणिज्य संघ अन्तर्गतको उद्योग समितिका संयोजक हरि गौतमले भने ।  

वीरगञ्ज भौतिक पूर्वाधारको उपलब्धता र भौगोलिक कारणले पनि औद्योगिक प्रतिष्ठानका लागि उपयुक्त क्षेत्र भएकाले बारा–पर्सा क्षेत्रमै उद्योगका लागि सरकारले जग्गाको व्यवस्था मिलाउनुपर्ने संघईको सुझाव छ । 

बारा–पर्सामा उद्योगका लागि जग्गा पाउनै छाडिएको र बढी मूल्यको जग्गामा उद्योग खोल्नु जोखिमपूर्ण हुने उद्यमी बताउँछन् । केही अघिसम्म कट्ठाको ५ लाख रूपैयाँमा पाइने जग्गाको भाउ अहिले धुरको ३० लाख रूपैयाँसम्म पुगेको उद्यमी बताउँछन् । 

बारा–पर्सा औद्योगिक कोरिडोर औद्योगिक सम्भावनाका हिसाबले अगाडि छ । तर, जग्गा पाउनै मुस्किल र पाइहाले पनि चर्को मूल्य तिर्नुपर्ने अवस्थालाई नेपाल राष्ट्र बैंकले केही समयअघि सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले समस्या भनेको थियो । 

वीरगञ्जका उद्योगीले पर्साको ठोरी क्षेत्रमा कम्तीमा २ हजार विगाहा जग्गा खोजेर नयाँ औद्योगिक क्षेत्र तयार गर्न माग गरेका छन् । मुख्य नाका वीरगञ्जसँग निकट रहेको र हुलाकी मार्गले आवागमनमा सहज भएकाले यो क्षेत्रमा उद्योग आकर्षित हुने परिसंघ अध्यक्ष संघईले बताए । 

यस्तो क्षेत्रमा सरकारले उद्योगका लागि चाहिने न्यूनतम् पूर्वाधार तयार गरेर जग्गा बेच्नुपर्ने सुझाव उद्योगी शाहको पनि छ । ‘निश्चित समयभित्र उद्योग खोलिसक्नुपर्ने शर्तसहित उद्योगलाई जग्गा बेच्नुपर्छ । यसो गर्दा लक्षित उद्देश्यकै लागि उपयोग हुन्छ,’ उनले भने । 

सरकारले ५ वर्षअघि सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । मधेस प्रदेशका लागि सर्लाहीको सागरनाथ वन क्षेत्रमा औद्योगिक क्षेत्र प्रस्ताव गरिएको छ । तर, बारा–पर्सा क्षेत्रको तुलनामा यो अपायक हुने उद्यमी बताउँछन् । 

यसअघि नै सप्तरीमा निर्माण गरिएको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उपयोगमा छैन । निकासीजन्य उद्योगका लागि बाराको सिमरामा तयार भइरहेको विशेष आर्थिक क्षेत्रको प्रगति सन्तोजनक नभएकाले यो संरचनामा अन्य उद्योगलाई आह्वान गर्न सकिने पनि उद्योगीले बताएका छन् । 

बारा–पर्सा कोरिडोरमा उद्योग र मानव बस्ती सँगसँगै विस्तार भएकाले अहिले द्वन्द्व बढेको छ । नयाँ खोलिने औद्योगिक क्षेत्र आसपास मानव वस्ती विस्तारमा मापदण्ड बनाउनुपर्ने सुझाव उद्यमीहरूको छ । 

संघले पनि बारा–पर्सामा नयाँ औद्योगिक क्षेत्रका लागि संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बताएको छ । तर, अहिलेसम्म सरकारले उक्त माग सम्बोधन नगरेको संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)